• Menu

एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

नेपाल प्रफिट

२०८३ असोज २९, बिहीबार १७:१३

एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर) को वेबसाइट सार्वजनिक गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा  बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रतिष्ठानको वेबसाइट inspire2082.org सार्वजनिक गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालका अनुसार इन्स्पायरले नेपालले सामना गरिरहेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा भूराजनीतिक चुनौतीबारे अध्ययन र अनुसन्धान गर्दै आएको छ । प्रतिष्ठानले नीतिनिर्माता तथा विषयविज्ञलाई एकै ठाउँमा ल्याएर विभिन्न विषयमा छलफल र नीतिगत बहस सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

ज्ञान उत्पादन तथा रणनीतिक बहसलाई सहजीकरण गर्दै नेपालको लोकतान्त्रिक, समाजवादोन्मुख र राष्ट्रिय विकासको कार्यसूचीमा योगदान पुर्‍याउने लक्ष्य प्रतिष्ठानले लिएको छ ।

वेबसाइटमा अर्थराजनीति, समाज अध्ययन, प्राकृतिक स्रोत, प्रविधि तथा नवप्रवर्तन र परराष्ट्र मामिलासम्बन्धी सामग्री समेटिएका छन् । यसअघि प्रतिष्ठानले आयोजना गरेका नीतिगत बहसका कार्यपत्र तथा विभिन्न जर्नलमा प्रकाशित आलेखसमेत वेबसाइटमा राखिएका छन् । वेबसाइटमा आठ कार्यपत्र र चार विशेष प्रतिवेदन समावेश गरिएको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक आशिष रेग्मीका अनुसार वेबसाइटमा प्रकाशित सामग्रीमाथि नीतिगत बहस सञ्चालन गरी प्राप्त नयाँ विचारसमेत समावेश गरिनेछ ।

वेबसाइटमा प्रकाशित सामग्री तथा तिनले उठाएका विषयमा डा. युवराज खतिवडा, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, डा. नेत्र तिम्सिना, डा. विष्णुराज उप्रेती, प्रज्ञा अधिकारी र डा. टीका ढकालले धारणा राखेका थिए ।

वेबसाइटको नेपाली भाषातर्फ रामशरण बजगाईं र अङ्ग्रेजी भाषातर्फ बालकृष्ण कट्टेल सम्पादक रहेका छन् ।