काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलमा मन्त्रालयले ग्रिन युरिया प्लान्ट स्थापनाका लागि अवधारणा, विस्तृत विवरण तथा कार्यान्वयनको ढाँचासम्बन्धी प्रस्ताव आह्वान गरेको छ ।
सरकारको लक्ष्य वार्षिक करिब पाँच लाख मेट्रिकटन क्षमताको प्लान्ट स्थापना गर्नु रहेको मन्त्री चौधरीले बताएकी छन् । उनका अनुसार भविष्यमा आवश्यकताअनुसार यसको उत्पादन क्षमता थप विस्तार गर्न सकिनेछ ।
व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) तथा कन्सोर्टियमसँग अवधारणा र कार्यविधिसम्बन्धी विस्तृत प्रस्ताव आह्वान गरेको छ ।
प्राप्त प्रस्तावहरूको मूल्याकनबाट उपयुक्त प्रविधि, लगानीको ढाँचा, प्राविधिक चुनौती, आर्थिक सम्भाव्यता र आवश्यक सरकारी सहुलियतबारे स्पष्टता प्राप्त हुनेछ । इच्छुक कम्पनी तथा लगानीकर्ताले मन्त्रालयको आधिकारिक वेबसाइट www.moafe.gov.np बाट अवधारणा तथा कार्यवधिसम्बन्धी विस्तृत विवरण प्राप्त गर्न सक्नेछन् ।
आवेदकले आफ्नो प्रस्ताव आगामी मंसिर १३ गते साँझ ५:०० बजेसम्म मन्त्रालयमा भौतिक रूपमा बुझाउन वा [email protected]इमेलमार्फत पठाउन सक्ने मन्त्रालयले जनाएको छ । रासस