काठमाडौं । बडादसैँलगायत चाडपर्व मनाउन काठमाडौं उपत्यका बाहिर घर फर्कनेक्रमसँगै लत्ताकपडासहित घरायसी सामाग्री तथा उपहारका सामान खरिदका लागि मुख्य सहर र बजारमा उपभोक्ताको भीड लागेको छ ।
दसैँ, तिहार र छठलगायत महत्वपूर्ण पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका बजारमा किनमेल गर्नेको भीडभाड बढेको हो ।
विगतमा झैँ अहिले काठमाडौंको मुख्य व्यापारिक क्षेत्र, सपिङ मल, डिपार्टमेन्टल स्टोर तथा स्थानीय पसलमा ग्राहकको आवागमन बढेको छ ।
रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा काठमाडौंमा बस्दै आएका मानिस चाडपर्व मनाउन घर फर्कने तयारीमा जुटेका छन् । नयाँ लुगा लगाउने रहरले गुल्मी घर भएकी जानकी ज्ञवालीलाई काठमाडौंको न्युरोडमा पर्याएको छ ।
दसैँका लागि लत्ताकपडा खरिद दसैँमा बजारसम्म पुगेकी ज्ञवालीले भनिन्, ‘दसैँमा नयाँ लुगा नलगाए चित्तै बुझ्दैन, सस्तो र राम्रो लुगा खोज्दै छु । दसैँको रमाइलो नै यही त हो ।’
काठमाडौंको बजारमा १०० देखि लाखौँ मूल्यसम्मका सामग्री उपलब्ध हुने भएकाले उपभोक्ताले आफ्नो आर्थिक क्षमताअनुसार किनमेल गरिरहेको उनको अनुभव छ । ‘काठमाडौंमा गरिबदेखि धनीसम्म सबैले आफ्नो क्षमताअनुसार सामान किन्नसक्ने बजार छ । यो राम्रो पक्ष हो,’ ज्ञावलीले भनिन् ।
चाडपर्व लक्षित छुट तथा विशेष अफरले पनि बजारमा उपभोक्तालाई आकर्षित गरेको छ । शङ्खमूल टावरमुनि कपडाको सेल बजार सञ्चालन गरिरहेकी व्यापारी आन्सिका थापाले चिसो मौसम सुरु हुन लागेकाले जाडोमा लगाउने कपडा छुटमा बिक्री गरिरहेको बताइन् ।
दसैँ, तिहार र छठमा उपत्यका बाहिर जाने आफ्नो पसलका मुख्य ग्राहक रहेको उनको भनाइ छ । दसैँको घटस्थापनादेखि सुरु भएको व्यापार अष्टमीसम्म मानिसको चहलपहल हुने गरेको थापाले बताइन् ।
चाडपर्वमा घरपरिवार र आफन्तका लागि कोसेली लैजाने चलनले पनि बजारमा किनमेल बढाएको छ । न्युरोडमा घर लैजान पुष्टकारी किन्दै गरेका डोटीका मोहन पनेरुले दसैँका लागि आवश्यक मसलासमेत काठमाडौंबाटै किनेर लैजाने गरेको बताए ।
तुलनात्मक रुपमा सस्तो पर्ने भएकाले काठमाडौंबाटै किनेर लैजाने गरेको बताए । गाउँघरमाभन्दा तुलनात्मक रुपमा सस्तो पर्ने भएकाले काठमाडौंबाटै सामान किन्ने गरेको उनको भनाइ छ ।
‘मसला लगेपछि घरमा बाआमा खुसी हुनुहुन्छ, दसैँ आएको महसुस गर्नुहुन्छ,’ पनेरुले भने । यता, ललितपुरको लगनखेलस्थित मङ्गलबजारमा पनि चाडपर्व लक्षित किनमेल गर्नेको चहलपहल निकै बाक्लो छ । सामान्य अवस्थामा पनि व्यस्त रहने त्यस बजारमा अहिले ग्राहकको भीड थेगिनसक्नु छ ।
लतितपुरको मंगलबजारमा तीन दशकदेखि कपडा व्यापार गर्दै आएका घनश्याम रौनियारले यस वर्षको दसैँमा विगतको तुलनामा व्यापारिक उत्साह कम रहेको अनुभव सुनाए । बाढी पहिरोलगायत विपद्को प्रभाव, बढ्दो महँगी र आर्थिक संकटका कारण उपभोक्ताले खुलेर खर्च गर्न नसकेको उनको भनाइ छ । ‘सामानको मूल्य चर्को छ,’ उनले भने, ‘विशेष छुटमा राखेका सामानसमेत बिक्री गर्न चुनौती छ ।’
चाडपर्वमा बजारमा चहलपहल बढे पनि उपभोक्ताको क्रयशक्ति र व्यवसायीको व्यापारिक अपेक्षाबीच तालमेल देखिन्न ।