उल्सान । दक्षिण कोरियाको दक्षिणपूर्वी औद्योगिक सहर उल्सानस्थित रासायनिक कारखानामा आगलागी भएपछि नजिकैको पेट्रोकेमिकल उद्योगको निर्माणस्थलबाट करिब सात हजार कामदारलाई सुरक्षित स्थानमा सारिएको छ। बुधबार बिहान भएको उक्त घटनामा कुनै मानवीय क्षति नभएको योन्हाप समाचार संस्थाले जनाएको छ।
सियोलबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको कारखानामा स्थानीय समयअनुसार बिहान ९ः४१ बजे आगलागी भएको थियो। घटनाका बेला कारखानामा कार्यरत १२ जना कर्मचारी सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए।
अधिकारीहरूका अनुसार अत्यधिक ज्वलनशील रसायन टोल्युइन भण्डारण गरिएको बाहिरी ट्यांकीबाट आगो सुरु भएको थियो। उक्त ट्यांकीमा आठ हजार लिटर टोल्युइन भण्डारण गरिएको थियो। आगोबाट उडेका झिल्काहरू नजिकैको अर्को क्षेत्रमा खस्दा त्यहाँ पनि आगलागी भएको थियो। आगो आसपासका अन्य रासायनिक भण्डारण ट्यांकीमा फैलिन सक्ने जोखिम देखिएपछि सतर्कता अपनाइएको थियो।
आगलागीपछि बाक्लो कालो धुवाँ र विषाक्त गन्ध फैलिएकाले आसपासको क्षेत्र खाली गराइएको थियो। सम्भावित जोखिमबाट जोगाउन नजिकैको पेट्रोकेमिकल उद्योगको निर्माणस्थलमा कार्यरत करिब सात हजार कामदारलाई बाहिर निकालिएको थियो। अन्य आसपासका उद्योग तथा व्यवसायका कर्मचारीलाई पनि सावधानीस्वरूप सुरक्षित स्थानमा सारिएको थियो।
आगो नियन्त्रणमा लिन अधिकारीहरूले राष्ट्रियस्तरको आपत्कालीन परिचालन आदेश जारी गरेका थिए। त्यसपछि विशेष अग्निनियन्त्रण सवारीसाधन, हेलिकप्टर र आसपासका सहर तथा क्षेत्रबाट आएका दुई सयभन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको थियो।
अधिकारीहरूका अनुसार दिउँसो १ः३४ बजे आगो नियन्त्रणमा लिइएको थियो भने १ः५० बजे पूर्ण रूपमा निभाइएको थियो। आगलागीको वास्तविक कारण तथा त्यसबाट भएको भौतिक क्षतिको विवरण पत्ता लगाउन अनुसन्धान गरिने अधिकारीहरूले बताएका छन्।