चितवन । चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या २३४ पुगेको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार संक्रमितमध्ये १४२ जना जिल्लाभित्रका र ९२ जना अन्य जिल्लाबाट उपचारका लागि आएका व्यक्ति हुन्।
कार्यालयका भेक्टर नियन्त्रण निरीक्षक राम केसीका अनुसार हालसम्म एक हजार ८१६ जनाको नमुना परीक्षण गर्दा २३४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्थानीय तहअनुसार सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ४६ जनामा संक्रमण देखिएको छ। तीमध्ये १८ पुरुष र २८ महिला छन्। त्यस्तै, भरतपुर महानगरपालिकामा ३२ जना, खैरहनी नगरपालिकामा २२ जना, राप्ती नगरपालिकामा २० जना, कालिका नगरपालिकामा १७ जना, माडी नगरपालिकामा तीन जना र इच्छाकामना गाउँपालिकामा दुई जनामा संक्रमण पुष्टि भएको छ।
कार्यालयका अनुसार जिल्लाभित्रका संक्रमितमध्ये ५२ पुरुष र ९० महिला छन्। त्यसैगरी, अन्य जिल्लाबाट उपचारका लागि आएका संक्रमितमध्ये ३४ पुरुष र ५८ महिला छन्। यसरी संक्रमित हुने महिलाको संख्या पुरुषको तुलनामा बढी देखिएको छ। हालसम्म जिल्लामा स्क्रब टाइफसका कारण कसैको मृत्यु भएको छैन।
के हो स्क्रब टाइफस ?
स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुसी’ नामक जीवाणुबाट हुने संक्रामक रोग हो। संक्रमित मुसामा पाइने सूक्ष्म किर्ना (माइट वा चिगर) को टोकाइबाट यो रोग मानिसमा सर्छ। यस्ता किर्ना घाँस तथा झाडीमा समेत पाइने भएकाले खेतबारीमा काम गर्दा वा झाडीमा जाँदा संक्रमणको जोखिम रहन्छ। यो रोग भने मानिसबाट मानिसमा सर्दैन।
स्क्रब टाइफस संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको अत्यधिक दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, जोर्नी दुख्ने, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने र शरीरमा बिमिरा देखिनेजस्ता लक्षण देखा पर्न सक्छन्। किर्नाले टोकेको ठाउँमा कालो दाग वा घाउ देखिनु पनि यसको प्रमुख लक्षणमध्ये एक हो।
समयमै उपचार नभएमा यस रोगले फोक्सो, कलेजो, मिर्गौला तथा मस्तिष्कमा असर पुर्याउन सक्छ। गम्भीर अवस्थामा अङ्गले काम गर्न छाड्ने वा मृत्युसमेत हुन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।
भेक्टर नियन्त्रण निरीक्षक केसीले स्क्रब टाइफसको जोखिमलाई ध्यानमा राख्दै घरवरपरका झाडी सफा राख्न, खेतबारीमा काम गर्दा शरीर ढाक्ने लुगा लगाउन तथा रोगका लक्षण देखिएमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा गएर परीक्षण र उपचार गराउन आग्रह गरेका छन् ।