काठमाडौं । बुढीगण्डकी र यसको सहायक नदी स्यार खोलामा आएको बाढीका कारण अवरुद्ध विद्युत सेवा धार्चे गाउँपालिकाबाहेक अन्य सबै प्रभावित क्षेत्रमा पुनः सञ्चालनमा आएको छ। धार्चेमा पनि विद्युत सेवा पुनः सञ्चालन गर्न मर्मत तथा पुनर्स्थापनाको काम तीव्र पारिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार बाढीबाट क्षति पुगेको विद्युत प्रणालीको मर्मत गरी अधिकांश प्रभावित क्षेत्रमा विद्युत आपूर्ति पुनः सञ्चालन गरिएको हो।
खोर्लाबेंसीदेखि माथिल्लो क्षेत्रमा सडक पहुँच नहुँदा र विद्युत लाइनमा पूर्ण क्षति पुगेकाले पुनर्स्थापनामा कठिनाइ भइरहेको छ। यद्यपि, खोर्लाबेंसीसम्म आजै विद्युत् आपूर्ति पुर्याउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणको आरुघाट वितरण केन्द्रका अनुसार धार्चे गाउँपालिकामा मंगलबार बिहानैदेखि विद्युत सेवा पुनः सञ्चालनका लागि काम सुरु गरिएको छ।
यसअघि आरुघाट क्षेत्रमा विद्युत आपूर्ति पुनः सञ्चालन भइसकेको छ। मन्त्रालयका प्रवक्ता मोहन शाक्यका अनुसार बाढीका कारण विद्युत सेवा अवरुद्ध हुनासाथ प्राधिकरणले मर्मत तथा पुनर्स्थापनाको काम थालेको थियो। करिब १० घण्टामै गोरखाको भीमसेन थापा गाउँपालिका-२, ३ र ४ मा विद्युत सेवा सञ्चालनमा ल्याइएको थियो।
त्यसैगरी, आरुघाट बजारसहित आरुघाट गाउँपालिकाको डाँडागाउँ र आरुपोखरी शाखामा समेत विद्युत आपूर्ति पुनः सञ्चालन भइसकेको छ। मन्त्रालयले यसै हप्ताभित्र बाढी प्रभावित सबै क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको जनाएको छ।
बाढीले गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानमा विद्युत वितरण प्रणालीसँगै जलविद्युत आयोजनाका संरचनामा समेत क्षति पुर्याएको छ। मन्त्रालयका अनुसार बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मेगावाट), दोभान खोला (२४.५ मेगावाट), यारु खोला (३०.५९ मेगावाट) र माछा खोला (१६ मेगावाट) लगायतका जलविद्युत आयोजनाका शिविर, निर्माण उपकरण तथा सामग्री, बेलीब्रिज, पहुँच सडक र आयोजनास्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ।
बाढीका कारण गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेजका पोलमा क्षति पुगेको छ। त्यसैगरी, सोती, आर्खेत तथा आरुघाट बजार क्षेत्रमा विद्युत वितरण लाइनका पोलहरू क्षतिग्रस्त भएका छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ स्थित स्याउली बजार क्षेत्रमा पनि न्यून भोल्टेजका छवटा पोलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।
विद्युत वितरण प्रणाली तथा जलविद्युत आयोजनामा भएको क्षतिको मर्मत र पुनर्स्थापनालाई तीव्रता दिँदै प्रभावित क्षेत्रमा यथाशीघ्र विद्युत सेवा पुर्याउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।