काभ्रे । सरकारी सवारीसाधन दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-३, कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रबिन विष्टका अनुसार सार्वजनिक बिदाको दिन गत असोज २४ गते शनिबार सरकारी सवारीसाधन दुरुपयोग गरी सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोप उनीमाथि छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा प्रहरीले सापकोटालाई असोज २५ गते पक्राउ गरेको हो । पक्राउपछि उनलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा उपस्थित गराइएको थियो ।
सूचना अधिकारी विष्टका अनुसार जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप अनुमति लिएर सापकोटालाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखिएको छ। उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।