काठमाडौं । दिगो प्याकेजिङ, वातावरणमैत्री व्यवसाय र चक्रीय अर्थतन्त्रको प्रवर्धनमा योगदान पुर्याउने ५ उद्यमी तथा नवप्रवर्तक पुरस्कृत भएका छन्। युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाअन्तर्गत बिहीबार काठमाडौंमा आयोजित समारोहमा पाँच उद्यमीलाई अनुदानसहित पुरस्कृत गरिएको हो।
काठमाडौंको हत्तिसारस्थित माया मनोर बुटिक होटलमा आयोजित कार्यक्रममा हरित व्यवसाय प्रवर्धन कार्यक्रमअन्तर्गत तीन र दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत दुई उद्यमीलाई विजेता घोषणा गरिएको थियो।
हरित व्यवसाय प्रवर्धन कार्यक्रमअन्तर्गत बागमती प्रदेशको रि अप स्टुडियो, लुम्बिनी प्रदेशको इकोदोस्ती प्रालि र मधेश प्रदेशको कुशवाहा बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म विजेता बनेका छन्। उनीहरूले जनही पाँच लाख ७४ हजार रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन्।
त्यस्तै, दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत ए.वि. बायोडिग्रेडेबल प्रडक्ट प्रालि र छाहारी फार्म प्रालि विजेता बनेका छन्। दुवै संस्थाले जनही सात लाख रुपैयाँ बराबरको अनुदान पाएका छन्।
नवीनता र व्यावसायिक सम्भावनाका आधारमा छनोट
आयोजकका अनुसार दुवै कार्यक्रमको अन्तिम चरणमा पुगेका सहभागीले निर्णायक मण्डलसमक्ष आफ्ना व्यावसायिक अवधारणा, उत्पादन तथा नवीन समाधान प्रस्तुत गरेका थिए। व्यावसायिक सम्भावना, नवीनता र दिगो विकासमा पुर्याउन सक्ने योगदानका आधारमा विजेता छनोट गरिएको हो।
हरित व्यवसाय प्रवर्धन कार्यक्रमका सहभागीको मूल्यांकन काठमाडौं अर्गानिकका भुवन केसी, क्रिएसन नेपालकी सुजाता कोइराला, एभरेस्ट वुमन्स भलिबल लिगकी स्नेभी चापागाईं, लक्ष्मी सनराइज बैंककी विद्या शर्मा र लिंकन इन्टरनेसनल कलेजका सत्येन्द्र उप्रेती सम्मिलित निर्णायक मण्डलले गरेको थियो।
दिगो प्याकेजिङ कार्यक्रमका सहभागीको मूल्यांकन भने लक्ष्मी सनराइज बैंकका राम पराजुली, वान टु वाचकी सोनी श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका रिचन श्रेष्ठ र फूलप्रसादकी सुषमा शर्मा वस्ती सम्मिलित निर्णायक मण्डलले गरेको थियो।
चक्रीय अर्थतन्त्र र वातावरणमैत्री व्यवसायमा जोड
क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले विजेता उद्यमी तथा नवप्रवर्तकलाई बधाई दिँदै चक्रीय अर्थतन्त्रलाई व्यवहारमा उतार्ने उनीहरूको प्रतिबद्धता नेपालको दिगो आर्थिक विकासका लागि महत्त्वपूर्ण रहेको बताइन्। उनले वातावरणमैत्री व्यावसायिक अभ्यासलाई प्राथमिकता दिँदै यस अभियानलाई निरन्तरता दिन आग्रह गरिन्।
क्रिएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले व्यवसाय सञ्चालन गर्दा लागतलाई मात्र प्राथमिकता दिने प्रवृत्तिबीच सहभागी उद्यमीले वातावरण र पृथ्वीका लागि लाभदायक विकल्प रोज्नु सकारात्मक भएको बताइन्। उनले हरित अर्थतन्त्रको प्रवर्धन र दिगो व्यवसायलाई जोड्ने यस्ता पहलले वातावरणीय चुनौती समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
प्याकेजिङजन्य फोहोरले वातावरणमा पार्ने असर न्यूनीकरण गर्न दिगो प्याकेजिङलाई प्राथमिकता दिन आवश्यक रहेको उनको भनाइ थियो।
२१ उद्यमीबीच प्रतिस्पर्धा
पुरस्कार वितरण समारोहअघि अक्टोबर ६ र ७ मा छनोट भएका उद्यमी तथा नवप्रवर्तकका लागि दुईदिने आवासीय बुट क्याम्प सञ्चालन गरिएको थियो। सहभागीलाई व्यावसायिक अवधारणा परिष्कृत गर्न, प्रभावकारी प्रस्तुति तयार पार्न तथा लगानी र बजारका सम्भावनासँग जोडिन आवश्यक प्रशिक्षण प्रदान गरिएको थियो।
दुवै कार्यक्रमको अन्तिम चरणमा पुगेका २१ सहभागीले निर्णायक मण्डल र आमन्त्रित सरोकारवालासमक्ष आफ्ना व्यावसायिक अवधारणा, उत्पादन तथा समाधान प्रस्तुत गरेका थिए। तीमध्ये हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमका १३ र दिगो प्याकेजिङ कार्यक्रमका आठ सहभागी थिए।
युरोपेली संघको सहयोगमा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापन, स्रोतको पुनःप्रयोग, वातावरणमैत्री प्याकेजिङ सामग्रीको विकास र हरित उद्यमशीलताको प्रवर्धनमा जोड दिँदै आएको छ। परियोजनाले नवीन व्यावसायिक विचारलाई व्यवहारमा उतार्दै नेपालमा दिगो तथा चक्रीय अर्थतन्त्रको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ।