एजेन्सी । नोबेल शान्ति पुरस्कारप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चासो र उनले पुरस्कार नपाए दिन सक्ने प्रतिक्रियाका कारण यस वर्षको विजेता घोषणालाई विशेष महत्त्वका साथ हेरिएको छ । नर्वेको राजधानी ओस्लोमा शुक्रबार विजेताको घोषणा हुँदैछ ।
यस वर्ष २८७ व्यक्ति तथा संस्था पुरस्कारका लागि मनोनयनमा परेका छन् । विशेषज्ञहरूले भने ट्रम्पले पुरस्कार पाउने सम्भावना नरहेको आकलन गरेका छन् । उनले आठ वटा युद्ध अन्त्य गरेको दाबी गर्दै आफू पुरस्कारका लागि योग्य रहेको बताउँदै आएक छन् ।
ओस्लोका विश्लेषकहरूले ट्रम्पको इरानसम्बन्धी नीति, ग्रिनल्यान्डप्रतिको महत्त्वाकांक्षा र आप्रवासीप्रतिको कठोर व्यवहारलाई पुरस्कारका लागि बाधक मानेका छन् । शान्ति अनुसन्धान संस्थानका प्रमुख हाकोन जेर्लोले पुरस्कार छनोटले ह्वाइट हाउसको प्रतिक्रिया निम्त्याउन सक्ने जोखिमबारे समितिले विचार गर्नुपर्ने बताएका छन् । तर नोबेल समितिका सचिव क्रिस्टियन बर्ग हार्पभिकेनले बाह्य दबाबले निर्णय प्रभावित नहुने स्पष्ट पारेका छन् ।
सम्भावित विजेतामा बाल संरक्षण र मानवीय सहायतामा संलग्न संस्था, युक्रेनी बालबालिकाको स्वदेश फिर्तीका अभियन्ता माइकोला कुलेबा तथा सुडानका पीडितलाई सहयोग गर्ने स्वयंसेवक सञ्जाल आपत्कालीन प्रतिक्रिया कक्ष (इआरआर) छन् । अर्कोतर्फ, प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघकी विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बनिज, पोप लियो चौधौँ तथा अन्तर्राष्ट्रिय न्यायिक संस्थाहरू पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन् ।
गत वर्ष पुरस्कार पाएकी भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले आफ्नो स्वर्ण पदक ट्रम्पलाई दिएका थिए । यस वर्षको नोबेल पुरस्कार वितरण समारोह डिसेम्बर १० मा हुनेछ । पुरस्कारसँगै प्रमाणपत्र, स्वर्ण पदक र १२ लाख अमेरिकी डलर प्रदान गरिन्छ । रासस