काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरका विभिन्न देशका मुद्रा सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा उनको साथ तथा लगेजबाट नेपाली रुपैयाँसहित विभिन्न देशका मुद्रा फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार बरामद मुद्राको स्रोत तथा प्रयोजनबारे थप अनुसन्धान गर्नुपर्ने देखिएपछि सुओलाङलाई मुद्रासहित नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार उनको साथबाट नेपाली ११ लाख ८६ हजार रुपैयाँ, चिनियाँ युआन ५१ हजार ७९०, अमेरिकी डलर ५ हजार ९६५, हङकङ डलर ४९ हजार ९९०, यूरो २ हजार ६० र अष्ट्रेलियन डलर ५० बरामद भएको छ ।
पक्राउ परेका सुओलाङलाई थप अनुसन्धान तथा प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ । (रासस)