• Menu

हाइटेरा र अडिडेलद्वारा विपद् उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि १० करोडभन्दा बढी मूल्यका सञ्चार उपकरण सहयोग

नेपाल प्रफिट

२०८३ असोज २१, बुधबार १७:१३

हाइटेरा र अडिडेलद्वारा विपद् उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि १० करोडभन्दा बढी मूल्यका सञ्चार उपकरण सहयोग

काठमाडौं । विश्वव्यापी सञ्चार प्रविधि कम्पनी हाइटेरा र नेपालस्थित यसको साझेदार कम्पनी अडिडेलले खोज तथा उद्धार तथा विपद् प्रतिकार्यका लागि नेपालका सुरक्षा निकायहरूलाई सञ्चार उपकरण तथा प्रविधि सहयोग गरेका छन् ।

व्यावसायिक तथा अत्यावश्यक सञ्चार प्रणालीको विश्वव्यापी प्रदायक हाइटेराले सार्वजनिक सुरक्षा, सरकारी निकायलगायत विभिन्न क्षेत्रमा ९० भन्दा बढी देशमा सेवा प्रदान गर्दै आएको छ । नेपालमा भने कम्पनीले आफ्नो विशेष स्थानीय साझेदार अडिडेलमार्फत उल्लेखनीय उपस्थिति कायम गरेको छ र व्यावसायिक सञ्चार बजारमा अग्रणी स्थानमा रहेको बताइएको छ । अडिडेल कम्पनी परियोजना विकास, पूर्वाधार, ऊर्जा, दूरसञ्चार, साइबर सुरक्षा तथा कृत्रिम बुद्धिमत्तालगायतका विविध क्षेत्रमा सक्रिय छ ।

सहयोगस्वरूप प्रदान गरिएका उपकरणहरूमा बडी-वर्न क्यामेरा, पुस-टु-टक ओभर सेलुलर रेडियो, तथा ई-प्याक पोर्टेबल रिपिटरलगायतका हार्डवेयर र सफ्टवेयर समावेश छन् । यी प्रणालीहरूको प्रयोगबाट विभिन्न सञ्चार माध्यमहरूलाई एकीकृत गरी केन्द्रीय कमाण्ड सेन्टर स्थापना गर्न सकिने बताइएको छ । उक्त उपकरणहरूले सामान्य सञ्चार पूर्वाधार अवरुद्ध वा अनुपलब्ध भएको अवस्थामा समेत सुरक्षा तथा उद्धारकर्मीलाई प्रभावकारी सञ्चार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

ई-प्याक पोर्टेबल रिपिटरले क्षतिग्रस्त वा सेवाविहीन क्षेत्रमा अस्थायी रेडियो नेटवर्क स्थापना वा विस्तार गर्न सहयोग पुर्‍याउनेछ । त्यस्तै, पिओसी रेडियोले सेलुलर नेटवर्कमार्फत फराकिलो क्षेत्रमा समूहगत सञ्चार तथा स्थानसम्बन्धी जानकारी आदानप्रदान गर्न सक्षम बनाउनेछ । बडी-वर्न क्यामेराले फिल्डमा खटिएका सुरक्षाकर्मीहरूको अडियो तथा भिडियो रेकर्ड गर्न सक्नेछ भने आवश्यकताअनुसार ती जानकारी कमाण्ड सेन्टरमा प्रत्यक्ष पठाउन पनि सकिनेछ ।

विशेषगरी भूकम्प, बाढी, पहिरो, हिमाली उद्धार तथा अन्य विपद्का समयमा परम्परागत सञ्चार प्रणाली प्रभावित हुँदा यस्ता प्रविधि अत्यन्त उपयोगी हुने विश्वास गरिएको अडिडेलका प्रबन्धक राम भण्डारीले जानकारी दिए ।

अनौपचारिक स्रोतहरूका अनुसार प्रदान गरिएको उपकरणको कूल मूल्य १० करोडभन्दा बढी रहेको बताइएको छ । उपकरण हस्तान्तरण कार्यक्रममा दक्षिण कोरियाको सोलस्थित हाइटेराका एसिया क्षेत्रीय प्रमुख निङमा तथा अडिडेल अध्यक्ष सञ्जय प्रधानसहित कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।

नेपालका सुरक्षा निकायहरूले देशभर भूकम्प, बाढी, पहिरो तथा अन्य आकस्मिक घटनाहरूमा खोज तथा उद्धार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका बेला प्राप्त यो सहयोगले विपद् व्यवस्थापन तथा उद्धार क्षमतामा थप मजबुती प्रदान गर्ने अपेक्षा गरिएको छ । हाइटेराको नेपालस्थित साझेदार कम्पनी औडेलले यस सार्वजनीक उत्तरदायित्वअन्तर्गत गरिएको कार्यक्रमको जानकारी दिएको हो । भूकम्प, बाढी, पहिरो र अन्य संकटकालीन अवस्थामा देशभर खोज, उद्धार तथा विपद् व्यवस्थापनमा नेपालका सुरक्षा निकायहरूले महत्वपूर्ण खोज तथा उद्धारको  भूमिका निर्वाह गरिरहेका र भविष्यमा आइपर्ने विपद् कार्यका लागि यो सहयोग प्राप्त भएको हो ।