• Menu

प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचनलाई थुनामा पठाउन आदेश

नेपाल प्रफिट

२०८३ असोज २१, बुधबार ०६:५६

प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचनलाई थुनामा पठाउन आदेश

काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

गुण एयरलाइन्सलाई कर्जा प्रवाह गर्दा बैंकिङ प्रक्रिया र सञ्चालक समितिको निर्णय पालना नगरेको अभियोगमा पक्राउ परेका शेरचनलाई उच्च अदालत पाटनको वाणिज्य इजलास नं. ४ का न्यायाधीश गणेशप्रसाद बराल र राजुकुमार खतिवडाको संयुक्त इजलासले मंगलबार थुनामा पठाउने आदेश दिएको हो ।

नेपाल राष्ट्र बैंकका कागजात, प्रहरी प्रतिवेदन, शेरचनको बयान र घटनासँग सम्बन्धित अन्य कागजात अध्ययनपछि तत्कालै शेरचनलाई निर्दोष ठहर गर्न सकिने अवस्था नरहेको आदेशमा उल्लेख छ ।

शेरचनमाथि गुण एयरलाइन्स प्रालिका नाममा करिब १५ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा बैंक सञ्चालक समितिको पूर्वस्वीकृति नलिएको र पछि अनुमोदन गराउने गरी प्रक्रिया अघि बढाएको अभियोग छ । आदेशमा शेरचनले अधिकारप्राप्त अधिकारीसमक्ष दिएको बयानमा पनि गुण एयरलाइन्सलाई कर्जा प्रवाह गर्दा सञ्चालक समितिको पूर्वस्वीकृति नलिएको र पछि अनुमोदन गराउने गरी कर्जा प्रवाह गरिएको कुरा स्वीकार गरेको उल्लेख छ ।

त्यस्तै, बैंकलाई प्राप्त हुनुपर्ने ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ ३० पैसा ब्याज प्राप्त नभएको पनि अदालतको आदेशमा उल्लेख छ । अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम शेरचनलाई मुद्दाको पुर्पक्षका लागि थुनामा राखी सम्बन्धित कारागारमा पठाउन आदेश दिएको हो ।

उक्त मुद्दामा तत्कालीन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का (एआईजी) डा. मनोजकुमार केसीको नेतृत्वमा विस्तृत अनुसन्धान अगाडि बढाइएको थियो ।