• Menu

कारोबार रकमसहित घट्यो सेयर बजार

नेपाल प्रफिट

२०८३ असोज १९, सोमबार १६:१०

कारोबार रकमसहित घट्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.४८ अंकले घटेर २ हजार ५६६.७६ अंकमा झरेको छ।

बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से कारोबार बन्द हुँदासम्म नकारात्मक अवस्थामा रह्यो गत साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेप्से ११ अंकले घटेको थियो ।

सोमबार कारोबार रकमसमेत घटेको छ। नेप्सेमा ३५९ कम्पनीका ९० लाख कित्ता सेयर ४४ हजार ७७७ पटकको कारोबारबाट ३ अर्ब २७ करोड रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ। शुक्रबार ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

बजार घट्नुमा ५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका संस्थापक लगानीकर्ताले सेयर बिक्री गर्नुअघि जानकारी गराउनुपर्ने नेपाल धितोपत्र बोर्डको व्यवस्थाले लगानीकर्ताको मनोबल कमजोर बनाएको बजारका सरोकारवालाले बताएका छन्।

बोर्डले संस्थापक सेयर बिक्रीमा गरेको व्यवस्थाप्रति पुनर्विचार गर्न प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले समेत निर्देशन दिइसकेको छ। यद्यपि, सोमबारको बजारले लगानीकर्ताको मनोबलमा सुधार आएको संकेत देखाएन। लाभांशको समय भएकाले सेयर मूल्य समायोजनले समेत बजार परिसूचकमा नकारात्मक प्रभाव पारेको बताइएको छ।

सोमबार ३२ कम्पनीको सेयर मूल्य बढ्दा २४२ कम्पनीको मूल्य घटेको छ भने चार कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

कारोबार भएका अधिकांश समूहगत परिसूचक घटेका छन्। बैंकिङ १०.७३, विकास बैंक २९.१६, वित्त २४.३६, होटल ७३.२८, जलविद्युत ३६.९५, लगानी १.०१, जीवन बिमा ९३.८१, उत्पादनमूलक १०४.५१, लघुवित्त २७.२४, निर्जीवन बिमा ६०.९९ र अन्य समूह १६.६७ अंकले घटेका छन्।

यस्तै, व्यापार समूह भने १०.७१ अंकले बढेको छ।