• Menu

अमेरिकामा गहिरिँदै रोजगारी संकट, ओहायोमा एकैपटक १४ हजार बेरोजगार

नेपाल प्रफिट

२०८३ असोज १८, आइतबार २०:३२

अमेरिकामा गहिरिँदै रोजगारी संकट, ओहायोमा एकैपटक १४ हजार बेरोजगार

एजेन्सी । अमेरिकाको ओहायो राज्यमा रहेको एक ट्रक कारखानाबाट करिब १४ हजार कामदारले एकैपटक रोजगारी गुमाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी सभा हुनुभन्दा केही दिनअघि भएको यो ठूलो कर्मचारी कटौतीले स्थानीय श्रमिक समुदायमा चिन्ता बढाएको छ ।

दक्षिण–पश्चिमी ओहायोस्थित पूर्व नाभिस्टार ट्रक कारखानामा बुधबार कर्मचारी कटौती गरिएको हो । यसबाट डेटन क्षेत्रको रोजगारीमा उल्लेखनीय असर परेको छ ।

रोजगारी गुमाउनेमध्ये ३० वर्षीय काइल बोस पनि छन् । उनका दुई छोरी छन् भने अर्को बच्चा जनवरीमा जन्मिने तयारीमा छ । बोसले परिवारको दैनिक खर्च व्यवस्थापन गर्न पहिलेभन्दा कठिन भइरहेको बताएका छन् । उनका अनुसार खाद्यान्नलगायत दैनिक आवश्यक वस्तुको मूल्य पनि बढेको छ ।

बोसले यसअघि तीन पटक डोनाल्ड ट्रम्पलाई मतदान गरेका थिए । तर, पछिल्लो अवस्थाबाट आफू निराश भएको उनले बताएका छन् । देशमा राजनीतिक परिवर्तन आवश्यक रहेको उनको ठहर छ ।

नोभेम्बरमा हुने चुनावमा बोस डेमोक्र्याटिक पार्टीका लागि मतदातासँग सम्पर्क गर्ने अभियानमा सहभागी हुने तयारीमा छन् ।

यसैबीच, ट्रम्पले शनिबार सोही क्षेत्रमा चुनावी सभा गर्दैछन् । आगामी चुनावमा श्रमिक वर्गको समर्थन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

कुनै समय उद्योग र रोजगारीका लागि प्रसिद्ध डेटन क्षेत्रमा अहिले रोजगारी घट्नु र दैनिक उपभोग्य वस्तुको मूल्य बढ्नुले स्थानीयमाथि आर्थिक दबाब बढाएको छ ।

सम्बन्धित समाचार