• Menu

बाढीपहिरोले तहसनहस बनाएको म्याग्दीमा पुनर्निर्माण तीव्र, सडक, विद्युत र सरसफाइमा जुट्यो समुदाय

नेपाल प्रफिट

२०८३ असोज १८, आइतबार १६:०१

बाढीपहिरोले तहसनहस बनाएको म्याग्दीमा पुनर्निर्माण तीव्र, सडक, विद्युत र सरसफाइमा जुट्यो समुदाय

म्याग्दी । बाढीले बगाएको सडक, पहिरोले भत्किएका, पुरिएका, बस्नै नमिल्ने भएका घर, ढलेका विद्युतका पोल, लत्रिएका तार र बाढीले थुपारेको गेगर । कतै विस्थापित परिवारको पीडा त कतै उजाडिएका बस्ती । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछिको म्याग्दीको दृश्य केही दिनअघिसम्म यस्तै थियो ।

तर अहिले जिल्लाको दृश्य विस्तारै फेरिँदै गएको छ । विपद्ले थलिएको जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सरकारी निकायसँगै स्थानीय बासिन्दा, युवा, सामाजिक संस्था, राजनीतिक दल र व्यवसायीहरू आ-आफ्नो ठाउँबाट जुटेका छन् । कोही सडक खुलाउन श्रम गरिरहेका छन्, कोही विद्युतका पोल गाडिरहेका छन् । कसैले बजारका घरमा थुप्रिएको हिलो पन्छाइरहेका छन् भने कसैले बाढीले क्षति पुर्याएको तातोपानी कुण्ड सफा गरिरहेका छन् । विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनामा म्याग्दीमा देखिएको जनसहभागिता अहिले जिल्लाको पुनःउत्थानको मुख्य आधार बनेको छ ।

सडक खुलाउन काँधमा इन्धन

चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी-जोमसोम-कोरला सडक बाढी र पहिरोका कारण ठाउँठाउँमा क्षतिग्रस्त भयो । सडक मर्मतका लागि आवश्यक उपकरण पुगे पनि इन्धन अभाव चुनौती बन्यो । समस्या समाधानका लागि शनिबार ४५ जना सुरक्षाकर्मी, राजनीतिक दलका कार्यकर्ता तथा सामाजिक संघसंस्थाका स्वयंसेवकको टोलीले राहुघाट खोलादेखि बैसरीसम्म ७२० लिटर डिजेल बोकेर पुर्‍यायो ।

अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाले सडक मर्मतका लागि दुई हजार ५०० लिटर डिजेल सापटी दिएको छ । ‘सडक सञ्चालनका लागि इन्धन अभाव भएपछि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गर्नुका साथै जलविद्युत् आयोजनासँग सापटी मागेका हौँ,’ बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले भने ।

यसअघि बेनीका युवा प्रकाश पौडेलको नेतृत्वमा युवाहरुले राहुपारे-कुनौटा खण्डमा श्रमदान गरेर पैदलयात्राका लागि भर्याङ राख्ने र डोरी तान्ने काम गरेका थिए ।

पोल गाड्दै र तार तान्दै युवा

बाढीपहिरोले पोल ढालेपछि म्याग्दी जिल्लाभर अवरुद्ध बनेको विद्युत सुविधा अझै सञ्चालन हुनसकेको छैन । सदरमुकाम बेनी बाहिरका बस्तीमा युवा क्लबका पदाधिकारी तथा सदस्य र युवाहरू विद्युत लाइन मर्मतमा जुटेका छन् । स्थानीयले ढलेका पोल गाड्ने र लत्रिएका तार तान्ने काममा सहयोग गरेपछि शनिबार बरंजा र ताकममा एक सातापछि केन्द्रीय प्रसारण लाइनको विद्युत आपूर्ति सञ्चालन भएको छ ।

‘समुदायले श्रमदान गरेर सहयोग गरेकाले विद्युत आपूर्ति सञ्चालनलाई तीव्रता दिन सहज भएको छ,’ नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले भने ।

बजारको पहिरो पन्छाउँदै

बेनी नगरपालिका-८ न्युरोडमा बुधबार खसेको पहिरोले १५ घरमा क्षति पुर्यायो । तीमध्ये १० घरमा बस्नै नमिल्ने गरी हिलो थुप्रियो । न्युरोड र गणेशटोल क्षेत्रका करिब एक सय घर जोखिममा परे । घर छाडेर सुरक्षित स्थानमा पुगेका स्थानीयका लागि आफ्नै टोल सफा गर्नु बाध्यतामात्र होइन, सामूहिक जिम्मेवारी पनि बन्यो । शनिबारदेखि स्थानीय बासिन्दा, जनप्रतिनिधि, राजनीतिकर्मी, युवा क्लब, आमा समूह, टोल विकास संस्था, लायन्स क्लब र बजारवासी श्रमदानमा जुटेका छन् । आइतबार पनि श्रमदानमार्फत बाँस र काठ हटाए पनि ब्याकुहोलोडर र ट्याक्टर परिचालन गरेर पहिरो पन्छाउने तथा पानीको सुरक्षित निकास व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

‘पहिला बाँस र काठ हटाउन बजारवासीले श्रमदान गरका छन् । त्यसपछि मेसिन परिचालन गरेर पहिरो पन्छाउने काम हुन्छ,’ बेनी नगरपालिका-८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले भने ।

तातोपानी कुण्डमा दसैँअघि नै पानी भर्ने चाहना

बेनी नगरपालिका-४ मा रहेको प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पनि बाढीको चपेटामा पर्यो । म्याग्दी नदीको बाढी कुण्डभित्र पसेपछि गेगर, माटो र बालुवा थुप्रियो । कुण्डलाई दसैँअघि नै सञ्चालनमा ल्याउने उद्देश्यले स्थानीयले बुधबारदेखि सरसफाइ अभियान सुरु गरेका छन् । सिङ्गाका विभिन्न टोलले आलोपालो गरेर श्रमदान गरिरहेका छन् ।

शनिबारमात्रै साविक सिङ्गा गाविस-७ का ३४ जना, तल्लो सिङ्गाका २८ जना, सुर्केमेला-बास्कुना-थामडाँडाका ६४ जना, छाप युवा क्लबका छ जना र तातोपानी युवा क्लबका ३५ जना सरसफाइमा सहभागी भए । कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार स्थानीयको निरन्तर श्रमदानले बाढीले थुपारेको गेगर हटाउने काम अघि बढेको छ ।

दुःखमा साथ, पुनर्निर्माणमा हात

विपद्पछि म्याग्दीमा स्थानीयस्तरको मात्र होइन, बाहिर रहेका म्याग्देली र गैरआवासीय नेपालीको सहयोग पनि जुटेको छ । प्रवासी म्याग्देलीहरूको संस्था प्रवासी नेपाली म्याग्देली संघ (मोना)ले १५ लाख तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ११ लाखबराबरको राहत सामग्री सहयोग गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार उद्धार र राहतसँगै सडक, सञ्चार तथा विद्युत् सेवा सञ्चालनमा जनप्रतिनिधि, सामाजिक संघसंस्था र समुदायको सक्रियताले विपद्को कठिन अवस्थालाई छिटो पार गर्न सहयोग पुगेको छ ।

‘सडक सञ्चालनदेखि विद्युतका पोल गाड्ने, तार तान्ने, तातोपानी कुण्ड र बजारका घरमा थुप्रिएको हिलो पन्छाउने तथा गाउँका पदमार्ग मर्मत गर्न समुदायले श्रमदान गरिरहेको छ,’ उनले भने, ‘जनसहभागिता र जनपरिचालनले असहज बनेको म्याग्दीको जनजीवन विस्तारै लयमा फर्कन थालेको छ ।’

क्षतिको अवस्था

पहिरोमा परि अन्नपूर्णमा पाँच र मालिका गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एक-एक जना बेपत्ता भएका छन् । बाढीपहिरोबाट म्याग्दीमा हालसम्म १११ घर पूर्ण र ९३ घरमा आंशिक क्षति पुगेको छ । तीन सय ४२ घर जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए ।

ग्रामीण क्षेत्रमा सञ्चार र विद्युत सेवा सञ्चालन हुन थालेपछि क्षतिको विवरण संकलन भइरहेको छ । त्यसैले क्षतिको तथ्याङ्ब अझै बढ्न सक्ने प्रशासनको भनाइ छ । जलविद्युत आयोजना, प्रसारण लाइन, नदी नियन्त्रण, खानेपानी, सडक पूर्वाधार, विद्यालय भवन, कृषि, पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण पनि संकलनकै क्रममा छन् ।

अन्नपूर्ण गाउँपालिका-५ पाउद्धार, गिवाङ, घिरवाङ र किन्दुकाका ११५ जनालाई हेलिकप्टरबाट उद्धार गरी शिख र घारमा राखिएको छ । अन्नपूर्ण-८ महभिरको बस्तीको पाखो चिराचिरा परेपछि त्यहाँका बासिन्दालाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका शब्दमा, विपद्ले दुःख दिए पनि संकटमा एकजुट हुने र दुःखमा साथ दिने म्याग्दीको पुरानै अभ्यास हो । ‘एकता, सहयोग र श्रमको भावनाले म्याग्दीको जनजीवनलाई सामान्य अवस्थामा फर्काउन ठूलो भूमिका खेलेको छ,’ उनले भने, ‘संकटमा एकजुट हुने, दुःखमा साथ दिने र हातेमालो गर्दै पुनर्निर्माणमा जुट्ने म्याग्दीको पुरानै असल अभ्यास हो ।’

विपद्को पानी घटिसकेको छ, तर क्षतिको घाउ अझै बाँकी छ । ती घाउ पुर्न समय लाग्नेछ । अहिले भने म्याग्दीले एउटा सन्देश दिइरहेको छ- विपद्ले भत्काएको संरचना मेसिनले बनाउला, तर त्यसमा जीवनको रङ भर्न समुदायको हात चाहिन्छ ।

फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

यसैबीच म्याग्दी सदरुमकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-८ फर्सेका बाढी प्रभावितका लागि पोखरा महानगरपालिका-१९ लामाचौरमा रहेको अनुग्रह सत्सङ्ग नेपालले रु पाँच लाख २७ हजार सहयोग गरेको छ ।

जलजला गाउँपालिका-७ खनियाघाटकी गौमती थापाको पहलमा पोखरेली सत्सङ्गद्वारा सहयोग गरिएको हो । संस्थाका अध्यक्ष देवी गुरुङ, उपाध्यक्ष ज्ञानु लामा र कोषाध्यक्ष सञ्जय लामाको टोलीले शनिबार फर्सेमा आएर जलजला गाउँपालिका-८ का वडाध्यक्ष हरिविकास जिसीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

प्राप्त भएको सहयोग रकम फर्सेका बाढी प्रभावितको पुस्र्थापनामा परिचालन गरिने वडाध्यक्ष जिसीले बताउनुभयो । यही असोज ८ देखि ११ गतेसम्म परेको निरन्तरको वर्षापछि कालीगण्डकीमा आएको बाढीले फर्सेका करिब एक सय परिवारलाई प्रभावित बनाएको छ ।

जलजला गाउँपालिकाका अनुसार ७५ घर बगेर पूर्ण रूपमा क्षति भएका छन्, २७ घर जोखिममा छन् । बाढीबाट विस्थापित ७५ परिवारका १२९ महिला, १४४ पुरुष र पाँच वर्षमुनिका आठ बालबालिका प्रभावित भएका छन् ।

घरबारविहीन परिवारमध्ये अन्यत्र घर नभएका र आफन्तकहाँ आश्रय लिन नसक्नेलाई सुरक्षा निकायको सहयोगमा अस्थायी शिविरमा राखिएको छ । फर्सेको पुरानो बस्ती बगरमा परिणत भएर उजाडिएको छ ।