• Menu

नेपाल महिला चेम्बरद्वारा महिला उद्यमीका उत्पादन प्रवर्धन गर्न असोज १७ देखि ‘चेम्बर बजार’ सञ्चालन हुने

नेपाल प्रफिट

२०८३ असोज १५, बिहीबार १७:१७

नेपाल महिला चेम्बरद्वारा महिला उद्यमीका उत्पादन प्रवर्धन गर्न असोज १७ देखि ‘चेम्बर बजार’ सञ्चालन हुने

काठमाडौं  । नेपाल महिला चेम्बरले महिला उद्यमी तथा व्यवसायीका उत्पादनको बजारीकरण, प्रवर्द्धन र व्यापार विस्तार गर्ने उद्देश्यले असोज १७ गते शनिबारदेखि ‘चेम्बर बजार’ सञ्चालन गर्ने भएको छ ।

चेम्बर अफ कमर्सको भवनमा आयोजना हुने बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्रीलगायत विभिन्न वस्तु बिक्रीका लागि राखिनेछन्। बजारमा साल्ट ट्रेडिङसहित विभिन्न संस्थाका बिक्री कक्षसमेत रहने नेपाल महिला चेम्बरले जनाएको छ ।

चेम्बर बजारमा महिला उद्यमीका उत्पादनसँगै आयात-निर्यातजन्य वस्तुको प्रवर्द्धन तथा बजारीकरणसमेत गरिनेछ। उद्यम गरिरहेका तथा उद्यम गर्न इच्छुक महिलालाई व्यवसायमा आकर्षित गर्न सरकारी प्रक्रिया तथा व्यवसाय सञ्चालनसम्बन्धी अभिमुखीकरण, सीप तथा व्यावसायिक तालिम, महिला स्वास्थ्यसम्बन्धी सचेतना र निःशुल्क स्वास्थ्य परीक्षणलगायत कार्यक्रम सञ्चालन गरिने नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिइन् ।

चाडपर्वलाई लक्षित गरी शनिबार र आइतबार बजार सञ्चालन गरिनेछ। चाडपर्वपछि पनि प्रत्येक शनिबार बजार सञ्चालनमा रहने अध्यक्ष श्रेष्ठले बताइन् ।

नेपाल महिला चेम्बरकी सचिव ईश्वरा प्रसाईँका अनुसार चेम्बर बजारलाई व्यापारिक मेलामा मात्र सीमित नराखी महिला आर्थिक सशक्तीकरण, सीप विकास, बजार पहुँच र व्यावसायिक क्षमता अभिवृद्धिको निरन्तर अभियानका रूपमा अघि बढाइनेछ ।

नेपाल युवा चेम्बरसँगको सहकार्यमा सञ्चालन हुने बजारमार्फत महिला उद्यमीलाई आफ्ना उत्पादनको बजार विस्तार गर्ने अवसर प्रदान गर्नुका साथै महिलालाई व्यवसायप्रति प्रेरित र सक्षम बनाउने मुख्य लक्ष्य रहेको नेपाल महिला चेम्बरले जनाएको छ ।