• Menu

एआइआरडीसीको उपाध्यक्षमा चंकी क्षेत्री निर्वाचित

नेपाल प्रफिट

२०८३ असोज १४, बुधबार १६:५२

एआइआरडीसीको उपाध्यक्षमा चंकी क्षेत्री निर्वाचित

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री विकासशील मुलुकका बिमा तथा पुनर्बिमा कम्पनीहरूको संस्था ‘एआइआरडीसी’को उपाध्यक्षमा निर्वाचित भएका छन् ।

जिम्बाब्वेको हरारेस्थित रेनबो टावर्स होटलमा सेप्टेम्बर २८ मा सम्पन्न संस्थाको साधारण सदस्य बैठकबाट क्षेत्री उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनी संस्थाको कार्यकारी सञ्चालक समितिको सदस्यसमेत रहने छन् ।

विकासशील मुलुकका बिमा तथा पुनर्बिमा कम्पनीबीच सहकार्य, ज्ञान तथा अनुभव आदानप्रदान र बीमा क्षेत्रको विकास तथा विस्तारलाई प्रवर्धन गर्ने उद्देश्यले एआइआरडीसी स्थापना भएको हो ।

क्षेत्रीको नेतृत्वले नेपालको बिमा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा थप प्रतिनिधित्व तथा सहकार्यको अवसर प्राप्त हुने अपेक्षा गरिएको छ । संस्थाको आगामी सञ्चालक समिति बैठक सन् २०२७ अप्रिल ६ मा फिलिपिन्सको मनिलामा आयोजना हुने जनाइएको छ ।

त्यस्तै, सन् २०२८ मा काठमाडौंमा आयोजना हुने संस्थाको २५औँ सम्मेलनको स्थानीय आयोजक समितिको अध्यक्षको जिम्मेवारीसमेत क्षेत्रीले सम्हाल्ने छन् । सम्मेलन सफल बनाउन उनको नेतृत्वमा नेपाल तथा संस्थाका सदस्य राष्ट्रबीच समन्वय र सहकार्यलाई थप सुदृढ गरिने कम्पनीले जनाएको छ ।

उपाध्यक्षका रूपमा क्षेत्रीले संस्थाका उद्देश्य प्रवर्धन गर्नुका साथै नेपालका अन्य बीमा तथा पुनर्बीमा कम्पनीलाई संस्थाको सदस्यताका लागि प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।