महोत्तरी । भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार ४३५ जनाले लालपुर्जा प्राप्तिका लागि आवेदन दिएका छन् । भूमि समस्या समाधान समिति महोत्तरीले समितिको हालसम्मको कामबारे जानकारी दिँदै जिल्लामा २८ हजार ४३५ आवेदन प्राप्त भएको जनाएको छ ।
प्राप्त आवेदनमध्ये २८ हजार २२७ प्रणालीमा प्रविष्ट भइसकेका र २०८ वटा प्रविष्ट गर्न बाँकी रहेको समितिले जनाएको छ । प्रणालीमा प्रविष्ट आवेदनमध्ये सबैभन्दा बढी भूमिहीन परिवारका १६ हजार २३९ आवेदन छन् । तीमध्ये आठ हजार ४१८ भूमिहीन दलित र सात हजार ८२१ भूमिहीन सुकुमवासीका आवेदन रहेका समितिका अध्यक्ष तथा जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
अव्यवस्थित बसोवासीका ११ हजार ६९१ आवेदन प्राप्त भएको समितिले जनाएको छ । समितिले २१७ वटा आवेदन प्रणालीमा सामेल नगर्ने गरी अस्वीकृत गरेको अध्यक्ष यादवले जानकारी दिए ।
‘हामीले जिम्मेवारी तोकिएसँगै कामलाई निरन्तरता दिँदै आएका छौँ,’ यादवले भने, ‘पद्धति र निश्चित प्रक्रियाबाट अघि बढ्ने हो, यसले केही समय लाग्छ ।’
धेरैजसो काम स्थलगत, वडा र पालिका तहमै गर्नुपर्ने प्रकृतिका भएकाले सबैसँग समन्वय गरेर अघि बढिएको यादवको भनाइ छ । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमा १३८ वडा छन् ।
जसमध्ये छवटा वडाबाट कुनै प्रकृति (भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासी)का आवेदन नपरेको समितिले जनाएको छ । यस्ता वडामा सम्सी-४, पिपरा-१, सोनमा-५ र ६ तथा मनराशिश्वा-७ र ९ रहेका छन् ।
भूमि समस्या समाधानका लागि हकदाबीको सातदिने सूचना ११७ वडामा प्रकाशन गरिएको छ भने ९३ वटा वडामा वडास्तरीय सहजीकरण समिति गठन भएर काम अघि बढेको अध्यक्ष यादवले बताए ।
समितिबाट २६ वडाका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासी पहिचान भइसकेको समितिले जनाएको छ ।
जिल्लामा पालिकास्तरमा अहिलेसम्म सम्सी, सोनमा, महोत्तरी, जलेश्वर र बर्दिबासमा मात्र सहजीकरण समिति बनेका छन् । स्थलगत अध्ययन, जग्गाको प्रकृति, हकभोगको अवस्था यकिन, नापनक्सा, वडास्तरीय सहजीकरण र पालिकास्तरीय सहजीकरण समितिबाट किटानसाथ निर्णय भएका आवेदन जिल्ला भूमि समस्या समाधान समितिले आवश्यक अध्ययन गरेर टुंग्याउने प्रक्रिया बनाइएको छ ।
वर्तमान सरकार गठनपश्चात जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भूमि समस्या समाधान समिति गठन गरिएको हो । समितिले आवश्यक सबै प्रक्रिया अवलम्बन गरी सम्बद्ध पक्ष भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) दिइने जनाएको छ ।