• Menu

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, व्यवस्थापनमा चुनौती

नेपाल प्रफिट

२०८३ असोज १२, सोमबार १२:५५

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, व्यवस्थापनमा चुनौती

कपिलवस्तु । कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा चुनौती देखिएको छ ।

करिब ३५० जना क्षमता रहेको उक्त कारागारमा हाल ४२६ जना कैदीबन्दी रहेको कारागार प्रमुख मानबहादुर सारुले जानकारी दिए । कारागार व्यवस्थापन विभागले पछिल्लो समय ५० जना महिला कैदीबन्दीसमेत कपिलवस्तु कारागारमा थप गरेको छ ।

यसअघि पुरुष कैदीबन्दी मात्रै राखिँदै आएको कारागारमा महिला कैदीबन्दी थपिएपछि व्यवस्थापनमा थप चुनौती देखिएको छ । कारागार प्रमुख सारुका अनुसार ब्लक ‘ए’ मा १८० जनाको क्षमता रहेकामा २२७ जना र ब्लक ‘बी’ मा १७२ जनाको क्षमता रहेकामा १९९ जना कैदीबन्दी छन् । उनले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बसोबास, स्वास्थ्य, सरसफाइ तथा दैनिक व्यवस्थापनमा समस्या हुने गरेको बताए । ‘उपलब्ध संरचनाको क्षमताभन्दा कैदीबन्दीको संख्या बढी छ, त्यसैले व्यवस्थापनमा चुनौती छ,’ उनले भने ।

१९९५ सालमा स्थापना भएको कारागारको भौतिक संरचना पुरानो भएकाले कैदीबन्दीको संख्या अनुसार थप संरचना तथा आवश्यक पूर्वाधारको व्यवस्था गरिनुपर्ने आवश्यक रहेको प्रमुख सारुले बताए ।