• Menu

नेपालमा लगानी विस्तार गर्न ओपेक फन्ड तयार, महासंघ अध्यक्ष ढकाल भन्छन्- नेपाल ठूलो लगानी गन्तव्य बन्न सक्छ

नेपाल प्रफिट

२०८१ असार १२, बुधबार ११:०६

नेपालमा लगानी विस्तार गर्न ओपेक फन्ड तयार, महासंघ अध्यक्ष ढकाल भन्छन्- नेपाल ठूलो लगानी गन्तव्य बन्न सक्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा अपार सम्भावना रहेकाले लगानी विस्तारका लागि ओपेक फन्डलाई आग्रह गरेका छन् ।

अस्ट्रियाको भियनामा मंगलबार ओपेक फन्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटका अवसरमा अध्यक्ष ढकालले ओपेक फन्डका लागि नेपाल नयाँ र ठूलो लगानीको गन्तव्य बन्न सक्ने बताए ।

विश्वका उदाउँदा ठूला अर्थतन्त्र चीन र भारतको बीचमा रहेको नेपालको रणनीतिक अवस्थितिले यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिनसक्ने उनले स्पष्ट पारे । उनले नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको पनि जानकारी गराए ।

नेपाल र भारत सरकारबीच सम्पन्न दीर्घकालीन विद्युत व्यापार सम्झौताबारे जानकारी गराउँदै उनले यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहुँच पुर्‍याउने हुँदा जलविद्युत तथा नवीकरणीय ऊर्जामा लगानीको अवसर रहेको उल्लेख गरे । ‘त्यस्तै अर्को छिमेकी मुलुक बंगलादेशसँगको विद्युत् व्यापार सम्झौता अन्तिम चरणमा छ,’ उनले भने ।

उनले नेपालको सांस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशील जनशक्तिको उचित लाभ लिन पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताए । ‘नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ,’ उनले भने ।

नेपाल सरकारले हालै लगानीका लागि बाधक ठानिएका केही पुराना कानुन संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताए ।

महासंघको पहलमा दुई पक्षीय लगानी (बीआईए) फ्रेमवर्क तयार भई मन्त्रीपरिषदबाट पारितसमेत भइसकेको छ । ‘यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानीको वातावरण निर्माणमा सहयोग पुग्नेछ,’ उनले भने ।

मुलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन महासंघले निरन्तर पहल गरिरहेको उनले चर्चा गरे । अध्यक्ष ढकालले महासंघले केही समयअघि भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र यूएईको दुबईमा बिजनेस समिट आयोजना जानकारी दिए ।

‘महासंघ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार छ,’ उनले भने, ‘नेपाली लगानीकर्ता विदेशी लगानीको साथ नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि तयार छन् ।’

ओपेक फन्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफाले नेपालमा ओपेक फन्डले गरेका लगानीको चर्चा गर्दै नेपालको नवीकरणीय ऊर्जा, जलविद्युत तथा साना तथा मझौला उद्योगको प्रवर्धनमा ओपेक फन्ड थप लगानी गर्ने तयार रहेको बताए । उपाध्यक्ष तारेक अलनासरले पनि ओपेक फन्ड नेपालमा लगानी वृद्धि गर्न सकारात्मक रहेको स्पष्ट पारे ।

यसैबीच, ओपेक फन्डले ग्लोबल आइएमई बैंकलाई २ करोड ५० लाख डलर ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फन्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले मंगलबार हस्ताक्षर गरेका छन् ।