काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रियसभाले कानुन निर्माणमा असहयोग गरेको भनी आफूले नबोलेको स्पष्ट पारेकी छन्।
राष्ट्रियसभाको बिहीबारको बैठकमा समय लिएर समसामयिक विषयमा धारणा राख्दै मन्त्री गौतमले भदौ २३ गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्यभन्दा बाहिर गएर कुनै कुरा नबोलेको स्पष्ट पारिन् ।
यसअघि सभाको आजको बैठकको शून्य समयमा सदस्यहरूले कानुनमन्त्री गौतमले कानुन निर्माणमा राष्ट्रियसभाले असहयोग गरेको भनी समाचारमा आएको विषयप्रति आपत्ति जनाएका थिए ।
जवाफमा मन्त्री गौतमले राष्ट्रियसभाका सदस्यहरूलाई चोट पुग्ने गरी आफूले केही नभनेको बताइन् । उनले कानुन निर्माण जटिल प्रक्रिया भएको उल्लेख गर्दै राष्ट्रियसभाले कानुन बनाउन असहयोग गरेको आफूले नभनेको स्पष्ट पारिन् ।
उनले भनिन्, ‘यहाँहरूलाई चोट पुग्ने गरी मैले केही भनेकी छैन, कानुन बनाउनु जटिल प्रक्रिया हो, राष्ट्रियसभाले कानुन बनाउन असहयोग गरेको भनेकी छैन।’
समाचार तथा सामाजिक सञ्जालमा आफूले बोलेका विषयलाई तोडमोड गरेर प्रस्तुत गरिएको भए आगामी दिनमा कसैलाई चोट नपुग्ने गरी बोल्ने उनले बताइन् ।
‘मैले बोलेको विषयमा जिम्मेवारी लिन्छु, नबोलेको विषयमा मैले भन्न सक्दिनँ। मैले बोलेको कुराले चोट पुगेको भए क्षमा चाहन्छु,’ उनले भनिन् ।
यसैबीच, राष्ट्रियसभाको अर्को बैठक भदौ ३१ गते बुधबार दिउँसो १ः१५ बजे बस्ने गरी अध्यक्ष नारायणप्रसाद दाहालले स्थगित गरेका छन् ।