• Menu

विद्युत प्राधिकरणद्वारा रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति

नेपाल प्रफिट

२०८३ भदौ २५, बिहीबार १६:०८

विद्युत प्राधिकरणद्वारा रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी ८ वर्षीया रश्मी जैसीलाई १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने निर्णय गरेको छ।

प्राधिकरणको बुधबार बसेको सञ्चालक समिति बैठकले सुर्खेतको पञ्चपुरी नगरपालिका-२, श्रीचौर, कोटधारामा निर्माणाधीन पक्की पुलको उचाइका कारण ११ केभी प्रसारण लाइनको तार छुँदा घाइते भएकी जैसीलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

कोटधारामा महेन्द्र राजमार्गमा निर्माणाधीन पुलको उचाइका कारण प्रसारण लाइनको तार नजिक पुगेको अवस्थामा नुहाएर घर फर्कने क्रममा रश्मीले विद्युत्को तार छुन पुगेकी थिइन्। दुर्घटनामा गम्भीर घाइते भएकी उनको विभिन्न अस्पतालमा उपचार गरिएको थियो । उपचारका क्रममा ८१ हजार ३७२ रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले यसअघि उपचारका लागि तीन लाख रुपैयाँ पेश्की उपलब्ध गराएको थियो। नेपाल विद्युत प्राधिकरणको विनियमावलीअनुसार उक्त पेश्की रकम कट्टा गरी बाँकी १० लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति तथा राहतस्वरूप उपलब्ध गराइनेछ।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार दुर्घटना क्षतिपूर्ति नियमावली, २०६७ अनुसार गठित समितिको निर्णय, इलाका प्रहरी कार्यालय बवियाचौरको सर्जिमिन मुचुल्का, पञ्चपुरी नगरपालिकाको सिफारिस तथा प्राधिकरणको मेडिकल बोर्डको निर्णयका आधारमा क्षतिपूर्ति रकम स्वीकृत गरिएको हो।

घाइते कर्मचारीलाई करिब २० लाख क्षतिपूर्ति

यसैबीच, नेपाल विद्युत प्राधिकरणले कार्यक्षेत्रमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ।

प्राधिकरणका अनुसार मेलम्ची वितरण केन्द्रअन्तर्गत मेलम्ची नगरपालिका-१०, आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भनिने शेरबहादुर मगर २०८२ चैत ११ गते १५ केभी प्रसारण लाइनको डिस्क पिन बदल्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए।

दुर्घटनापछि उनलाई सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो ।

विद्युत क्षतिपूर्ति विनियमावलीअनुसार १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो ।

मगरले यसअघि नै १० लाख रुपैयाँ पेश्की लिइसकेका छन्। अब बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ सम्बन्धित वितरण केन्द्रमार्फत उपलब्ध गराउन सञ्चालक समितिले स्वीकृति दिएको सदस्य शाहीले जानकारी दिए ।

प्राधिकरणले एकै बैठकबाट विद्युत् दुर्घटनामा घाइते दुई व्यक्तिका लागि गरी कुल ३३ लाख ५९ हजार ६७३ रुपैयाँ क्षतिपूर्ति तथा उपचार सहयोग स्वीकृत गरेको छ।