धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा निर्माणाधीन एकीकृत सहरी पूर्वाधार विकास परियोजना अन्तिम चरणमा पुगेको छ ।
स्थानियलाई सहज बनाउन बजारलाई आधुनिक, व्यवस्थित र आकर्षक सहरी केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले सुरुआत गरिएको सो परियोजना अन्तिम चरणमा पुगेको हो । जितपुर बजारसमेत अहिले नयाँस्वरुप देखिन थालेको छ । यसो त सडक, नाला, पैदलमार्ग, मिनीमार्केट तथा बस्ती विकास समेटिएको यो परियोजनाले नगर केन्द्रको स्वरुप नै परिवर्तन गर्ने अपेक्षा समेत गरिएको छ ।
सहरी विकास मन्त्रालयको ३४ करोड ८६ लाख ५७ हजार लागतमा परियोजना सञ्चालन गरिएको थियो । हाल जितपुर बजार, अस्पताल लाइन, रातामाटे, अर्खौले हुँदै बजगाउँसम्म ७.८५ किलोमिटर सडकखण्डमा नाला, बेस र सब-बेस निर्माण सम्पन्न भइसकेको छ भने कालोपत्रको काम तयारी भइरहेको छ ।
मिनीमार्केट भवन पनि निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । सडक, नाला र फुटपाथ निर्माणले आवतजावत सहज हुने महालक्ष्मी जितपुरकी स्थानिय हेमकुमारी श्रेष्ठले जानकारी दिए ।
सहरी विकास तथा भवन निर्माण आयोजनाले कार्यान्वयन गरिरहेको आयोजनाका निर्माण कम्पनीका प्रतिनिधि सन्तोष राईका अनुसार २०८० असोजमा सम्झौता भएर काम अगाडि बढेको थियो । आयोजनाको काम २०८२ माघ महिनाभित्रै सम्पन्न गर्नुपर्ने शर्त थियो । तर निर्माणमा ढिलाइ हुँदा हालसम्म जम्मा करिब ६५ प्रतिशत काम सम्पन्न भएको राईले बताए । यस अवधिसम्म सरकारले निर्माण कम्पनीलाई २० करोड ५५ लाख ५३ हजार भने भुक्तानी गरी सकेको छ ।
निर्माण पक्षले रिङरोड क्षेत्रभित्रको जग्गा विवाद, केन्द्रबाट समयमै बजेट निकासा नहुनु, पछिल्लो महिना निर्माण सामग्री अभाव तथा मूल्य वृद्धिका कारण काम ढिलो भएको कम्पनीले जनाएको छ । महालक्ष्मी नगरपालिका प्रमुख ध्रुवराज रायमाझीका अनुसार जितपुर बजारलाई आधुनिक, व्यवस्थित र आकर्षक सहरी केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताए ।
उनले काम ढिला भएको र निर्माण सम्पन्न गर्न कम्पनीलाई आग्रह गरिरहेको जानकारीदिए । निर्माणका लागि आवश्यक ‘सामग्री’ तयार रहेको र वर्षायामका कारण काम ढिला भएको उनले बताए । बीचमा बाधा अवरोध नआए पुषसम्ममा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम निर्माण सम्पन्न हुने नगरप्रमुख रायमाझीले बताए ।