• Menu

काभ्रेमा ६ हजारभन्दा बढी भूमिहीन र अव्यवस्थित बसोबासीको निवेदन, व्यवस्थापन प्रक्रिया अघि बढाइँदै

नेपाल प्रफिट

२०८३ भदौ २३, मंगलबार १५:२८

काभ्रेमा ६ हजारभन्दा बढी भूमिहीन र अव्यवस्थित बसोबासीको निवेदन, व्यवस्थापन प्रक्रिया अघि बढाइँदै

काभ्रे । काभ्रेपलाञ्चोकमा ६ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीले निवेदन दिएका छन् । सरकारले भूमिहीनको समस्या समाधानका लागि प्रक्रिया अगाडि बढाएपछि जमिन पाउने आशामा उनीहरुले निवेदन दिएका हुन् ।

हालसम्म ६ हजार ३२९ भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीको निवेदन प्राप्त भएको जिल्लास्थित नापी कार्यालयले जनाएको छ । जिल्ला भूमि समस्या समाधान समितिमा भूमिहीनले निवेदन दिएको नापी कार्यालयका प्रमुख अशोक भुसालले जानकारी दिए । उनका अनुसार कुल निवेदनमध्ये जिल्लाका भूमिहीन सुकुमवासी ७०७ , भूमिहीन दलित १८३ र अव्यवस्थित बसोबासी पाँच हजार ४३९ को तथ्यांक प्रविष्ट भइसकेको छ ।

सरकारले गत जेठको तेस्रो साता नयाँ जिल्ला भूमि समस्या समाधान समिति गठन गरेसँगै समितिले जिल्लामा रहेका भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीका लागि जग्गा उपलब्ध गराउने काम अघि बढाएको थियो ।

समितिले जिल्लास्थित संघीय तथा प्रदेशका सांसद, जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षसँग छलफल गरी छुट निवेदन माग गरिएको जनाइएको छ ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले असार मसान्तभित्र जिल्लामा रहेका भूमिहीन सुकुमवासी, दलित तथा अव्यवस्थित बसोबासीको विवरण संकलन गरी निर्देशानुसार विवरण प्रविष्टिलगायतको काम भइरहेको बताए ।

उनका अनुसार सरकारले एक हजार दिनमा भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीको व्यवस्थापन गरिसक्ने लक्ष्यअनुसार नै जिल्लामा पनि काम भइरहेको छ ।

विगतमा छुटेका भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीको विवरण संकलन गरी प्रविष्ट गर्ने काम भइरहेको अधिकारीको भनाइ छ । ‘विवरण संकलनका क्रममा विगतमा भएका त्रुटिलाई सच्याउँदै प्रक्रिया अघि बढाइएको छ, कसैले बदनियत राखेको पाइए कारबाही गर्नेछौँ,’ अधिकारीले भने ।