• Menu

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौं यात्रा प्रभावित, वैकल्पिक बाटोले समय र भाडा दोब्बर

नेपाल प्रफिट

२०८३ भदौ २३, मंगलबार ११:४२

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौं यात्रा प्रभावित, वैकल्पिक बाटोले समय र भाडा दोब्बर

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा प्रभावित भएको छ ।

नियमित मार्ग अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौं जाने सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालन भइरहेका छन् । यसअघि करिब ५-६ घण्टामा पूरा हुने यात्रा अहिले १२-१३ घण्टासम्म लाग्ने गरेको छ भने यात्रुको खर्चसमेत बढेको छ ।

भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि बेँसीसहरबाट काठमाडौं चल्ने माइक्रोबस तथा ठूला बस चितवन, हेटौंडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन् ।

लामो र घुमाउरो बाटोका कारण यात्रुको समय र खर्च बढ्नुका साथै सवारीसाधन तथा यात्रुको संख्या घटेको छ । बेँसीसहर-काठमाडौं माइक्रोबसका चालक मुस्कान राईका अनुसार वैकल्पिक मार्गबाट काठमाडौं पुग्न पहिलेभन्दा धेरै समय लाग्ने गरेको छ ।

‘बाटो लामो भएकाले समय पनि धेरै लाग्छ,’ उनले बताए । बेँसीसहर माइक्रो काउन्टरका अनुसार सडक अवरुद्ध हुनुअघि दैनिक ४०-५० वटा माइक्रोबस काठमाडौं जाने गरेकामा अहिले ५-७ वटामात्र सञ्चालनमा छन् । यात्रु पनि अत्यावश्यक काम परेका मात्रै जाने गरेका छन् ।

सडक अवरुद्ध हुनुअघि डिजेल माइक्रोबसको भाडा ९०० र विद्युतीय माइक्रोबसको ७०० रहेकामा अहिले क्रमशः दुई हजार र एक हजार ५०० पुगेको छ । यात्रु तथा सवारीसाधन घटेसँगै चालक तथा व्यवसायीको आम्दानीमा असर परेको छ । ठूला बसमा पनि यात्रुको संख्या घटेको छ । पृथ्वी राजमार्ग बस काउन्टरका अनुसार यसअघि बेँसीसहरबाट काठमाडौं दैनिक ५-६ वटा ठूला बस छुट्ने गरेकामा अहिले एउटा बसमात्र जाने गरेको छ । वैकल्पिक मार्गअनुसार भाडा फरक पर्ने भएकाले हाल निश्चित भाडा तोकिएको छैन ।

यसअघि सवारीसाधन अनुसार ९०० देखि एक हजार २०० सम्म रहेको भाडा अहिले दुई गुणाभन्दा बढी रहेको छ ।

सडक अवरोधको असर उपचारका लागि ‘रेफर’ हुने बिरामीको यात्रामा परेको छ । लमजुङ अस्पतालका सूचना अधिकारी अनिल रेग्मीका अनुसार अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं, चितवन र पोखरा रेफर गर्ने गरिएको छ ।

काठमाडौं लैजानुपर्ने केही बिरामीलाई एम्बुलेन्समै घुमाउरो बाटोबाट लैजानुपरेको छ भने कतिपयलाई पोखरासम्म एम्बुलेन्समा पुर्‍याएर त्यहाँबाट हेलिकप्टरमार्फत लैजानुपर्ने अवस्था रहेको उनले बताए ।

यसले बिरामी र आफन्तलाई झन्झटसँगै उपचार खर्चसमेत बढाएको उनको भनाइ छ । बेँसीसहरकी प्रकृति श्रेष्ठले वैकल्पिक मार्गबाट यात्रा गर्दा समय र खर्च दुवै बढेको बताइन् । उनी भदौ २० गते शनिबार काठमाडौंस्थित काम सकेर बेँसीसहर फर्किएकी थिइन् । काठमाडौं जाँदा माइक्रोमा ९०० तिरेकी उनले फर्किंदा दुई हजार भाडा तिर्नुपरेको बताइन् ।

‘वैकल्पिक बाटो निकै लामो र थकाइलाग्दो रहेछ । वर्षाका कारण बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले डर लाग्छ,’ उनले बताइन् । नियमित मार्ग सञ्चालनमा नआएसम्म लामो यात्रा, बढेको भाडा र वैकल्पिक मार्गको जोखिमका कारण यात्रुले थप सास्ती खेप्नुपर्ने अवस्था छ ।