काठमाडौं । बाढीपहिरोलगायत विपद्का घटनामा नेपाल स्काउटले उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिएको छ। नेपाल सरकारले राष्ट्रिय कार्यसमितिमा सन्तोषकुमार थापाको संयोजकत्वमा नयाँ अन्तरिम समिति गठन गरेसँगै स्काउटका गतिविधिले थप गति लिएका हुन्।
केही समय नेतृत्वविहीन बनेको नेपाल स्काउटले नयाँ संयोजक पाएपछि विशेषगरी भोटेकोशी बाढी तथा पहिरो प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालनलाई प्रभावकारी बनाएको जनाएको छ। विपद् आएको पहिलो दिनदेखि नै संयोजक थापाको सक्रियतामा स्काउटका स्वयंसेवक विभिन्न टोली बनाएर उद्धार, राहत तथा पुनःस्थापनाका काममा खटिएका छन् ।
सरकारी विपद् व्यवस्थापन संयन्त्रसँग प्रत्यक्ष समन्वय गर्दै नेपाल स्काउटले खोज तथा उद्धार, खाना व्यवस्थापन, सामुदायिक भान्सा सञ्चालन, राहत सामग्रीको व्यवस्थापन तथा होल्डिङ सेन्टर सञ्चालनमा सहयोग गर्दै आएको छ।
प्रभावितलाई सामुदायिक भान्सामार्फत खाना
नेपाल स्काउटले अन्तर्राष्ट्रिय संस्था ‘वर्ल्ड सेन्ट्रल किचेन’सँगको सहकार्यमा प्रभावित क्षेत्रमा सामुदायिक भान्सा सञ्चालन गरेको छ। भान्सामार्फत विपद् प्रभावित नागरिक तथा स्वयंसेवकलाई नियमित रूपमा ताजा खाना उपलब्ध गराउँदै आएको स्काउटले जनाएको छ।
विपद्का कारण बालबालिकामा परेको मानसिक असर कम गर्न तालिमप्राप्त स्वयंसेवकसमेत परिचालन गरिएको छ। उनीहरूले प्रभावित बालबालिकालाई खेलकुद, सिर्जनात्मक गतिविधि तथा मनोसामाजिक सहयोग उपलब्ध गराइरहेका छन्।
होल्डिङ सेन्टरदेखि राहत सामग्री व्यवस्थापनसम्म
काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका प्रभावित नागरिकको बसोबास तथा खानपान व्यवस्थापनमा समेत स्काउटका स्वयंसेवक खटिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत दैनिक २५ जनाभन्दा बढी स्वयंसेवक परिचालन भइरहेको जनाइएको छ।
उनीहरूले राहत सामग्रीको प्याकिङ, वर्गीकरण तथा प्रभावित क्षेत्रमा पठाउने कामलाई व्यवस्थित बनाउन सहयोग गरिरहेका छन्।
नेतृत्वको निर्देशनमा सम्पूर्ण संयन्त्र परिचालन
प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक बालेन्द्र शाहको निर्देशन तथा प्रमुख स्काउट एवं शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सक्रियतामा नेपाल स्काउटको सम्पूर्ण संयन्त्र विपद् व्यवस्थापनमा परिचालित भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले आफ्ना सार्वजनिक अभिव्यक्तिमार्फत विपद्का समयमा स्काउट नेतृत्व तथा स्वयंसेवकले पुर्याएको योगदानको प्रशंसासमेत गर्दै आएका छन् ।
यसअघि आन्तरिक विवाद तथा आरोप-प्रत्यारोपमा अल्झिएका स्काउटका अग्रजसमेत पछिल्लो समय वर्तमान नेतृत्वसँग सहकार्य गर्दै विपद् प्रभावित क्षेत्रमा परिचालित भएका छन्। सीमित स्रोतसाधनका बाबजुद नेपाल स्काउटले उद्धार र राहतसँगै प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायसँग समेत समन्वय अघि बढाएको जनाएको छ।
पुनर्स्थापनालाई पनि प्राथमिकता
विपद्का समयमा स्वयंसेवक परिचालन, राहत व्यवस्थापन तथा प्रभावित समुदायलाई तत्काल सहयोग उपलब्ध गराउने कामलाई प्राथमिकतामा राख्दै नेपाल स्काउटले आफ्नो संयन्त्रलाई थप व्यवस्थित बनाउने तयारी गरेको छ।
उद्धार र राहतसँगै प्रभावित क्षेत्रको पुनर्स्थापनामा समेत सक्रिय सहभागिता जनाउँदै स्काउटले विपद् व्यवस्थापनमा स्वयंसेवी संस्थाको भूमिका थप प्रभावकारी बनाउने प्रयास गरिरहेको जनाएको छ।