• Menu

अविरल वर्षा र पहिरोले बाजुराको जनजीवन प्रभावित, साँफे-मार्तडी सडक र विद्युत सेवा पूर्ण अवरुद्ध

नेपाल प्रफिट

२०८३ भदौ २२, सोमबार १२:१२

अविरल वर्षा र पहिरोले बाजुराको जनजीवन प्रभावित, साँफे-मार्तडी सडक र विद्युत सेवा पूर्ण अवरुद्ध

बाजुरा । शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा यहाँको जनजीवन प्रभावित भएको छ ।

लगातारको अविरल वर्षापछि सडक र विद्युत अवरुद्ध भएपछि जिल्लाको जनजीवन प्रभावित भएको हो । पहिरोले शनिबार रातिदेखि जिल्लाभर विद्युत र सदरमुकाम मार्तडी जोड्ने साँफे-मार्तडी सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ ।

लगातारको वर्षाका कारण बडीमालिका नगरपालिका-९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायतका स्थानमा सडक माथिबाट ठुलो पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुई दिनदेखि सडकखण्ड अवरुद्ध हुँदा सदरमुकाम मार्तडीबाट आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारीसाधनहरु रोकिएपछि यातायात ठप्प भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार अवरुद्ध सडकखण्ड सुचारु गर्न आइतबार नै जेसीबी प्रयोग गरेर पहिरो पन्छ्याउने काम सुरु गरिएको थियो ।

तर दिउँसोबाट पुनःभारी वर्षा सुरु भएपछि रोकिएकोमा आज बिहानबाटै सडक विभागका एउटा जेसीबी र एउटा स्काभेटर लगाएर सडक खोल्ने कार्य भइरहेको भाटले बताए ।

जिल्लाभर विद्युत आपूर्ति बन्द

शनिबार राति अविरल वर्षापछि पहिरोले ३२ वटा खम्बा ढलेपछि बाजुरा जिल्लाभर राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका-९ सुवाकाँध र वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ खम्बा ढलेपछि विद्युत आपूर्ति बन्द भएको हो । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराका अनुसार सुवाकाँधमा सडकमाथिबाट ठूलो पहिरो खस्दा सात र वीरेखोला क्षेत्रमा २५ वटा खम्बा ढलेका छन् । शनिबार राति करिब ९ बजे जिल्लाभर विद्युत सेवा बन्द भएको थियो ।

अवरुद्ध विद्युत सेवा मर्मतका लागि हिजोदेखि नै प्राविधिकको टोली त्यस क्षेत्रमा खटिएको कार्यालयले जनाएको छ । अछामदेखि जिल्ला सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइनको विद्युत सञ्चालनमा छ ।

विद्युत सेवा बन्द हुँदा सदरमुकाम मार्तडीसहित अन्य क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन् । सरकारी तथा गैरसरकारी कार्यालयका सेवा प्रवाहसँगै विद्युतबाट सञ्चालन हुने सम्पूर्ण कामकाज प्रभावित भएका छन् । अवरुद्ध विद्युत र सडक सुचारु गर्न बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला प्रभावित क्षेत्रमा खटिएको जनाएको छ ।

सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका-८ र ९ का विभिन्न स्थानमा आइतबार पहिरो खस्दा दुई वटा घर, चार वटा गोठ, एक गाईगोठ तथा एक पक्की घरमा क्षति पुगेका छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले अवरुद्ध सडक सुचारु गर्न राप्काबाट सडक विभागका दुई वटा मेसिन लगाएर मर्मत कार्य भइरहेको बताए । विद्युत सेवा सञ्चालनका लागि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराबाट प्राविधिक तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मीको टोली खटिएको ।