• Menu

हवाई तथा स्थल मार्गबाट राहत सामग्री ढुवानी तीव्र, ३ हजार ९ सय बढी नागरिक होल्डिङ सेन्टरमा

नेपाल प्रफिट

२०८३ भदौ १८, बिहीबार १६:४२

हवाई तथा स्थल मार्गबाट राहत सामग्री ढुवानी तीव्र, ३ हजार ९ सय बढी नागरिक होल्डिङ सेन्टरमा

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको जनाएको छ।

प्राधिकरणका अनुसार नेपाली सेनाको हवाई उद्धारमार्फत चार हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरिएको छ। बाढी तथा अन्य विपद्का घटनामा घाइते भएका पाँच हजार १३५ जनाको उपचार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन्।

उपचार गरिएकामध्ये नेपाली सेनामार्फत तीन हजार २०६, सशस्त्र प्रहरी बल नेपालमार्फत एक हजार ६२८ र विभिन्न अस्पतालमा ३०१ जनाको उपचार गरिएको छ।

उद्धार गरिएकामध्ये तीन हजार ९४८ जना हाल होल्डिङ सेन्टरमा रहेका छन्। प्राधिकरणका अनुसार नुवाकोटमा दुई हजार ९८१, धादिङमा २६०, रसुवामा ३२० र काठमाडौंमा ३८७ जना होल्डिङ सेन्टरमा रहेका छन्।

खोज, उद्धार तथा राहतका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता महतले जानकारी दिइन्। उनका अनुसार नेपाली सेनाका नौ हजार २८७, नेपाल प्रहरीका सात हजार ९१२ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्।

स्थल तथा हवाई माध्यमबाट राहत

प्रभावित क्षेत्रमा काठमाडौंबाट ४५ ट्रक, ३७ बोलेरो, १४ मिनीट्रक तथा नौ हवाई उडानमार्फत राहत सामग्री पठाइएको प्राधिकरणले जनाएको छ।

त्यसैगरी, सशस्त्र प्रहरी बल नेपालले नुवाकोट र रसुवामा १३० हवाई उडानमार्फत राहत सामग्री ढुवानी गरेको छ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा हाल ४६ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र २१ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ।

सञ्चार सेवा पनि सञ्चालनमा

बाढीबाट क्षति पुगेका नेपाल टेलिकमका सबै ११० वटा टावर सञ्चालनमा आएका छन्। एनसेलका ७८ वटा टावरमध्ये ७५ वटा सञ्चालनमा आइसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, उपचार, राहत तथा अत्यावश्यक सेवा पुनःस्थापनाको कामलाई निरन्तरता दिइरहेको जनाएको छ।