• Menu

भोटेकोशी बाढीपीडितका लागि राहत कहाँ कहाँ हुँदैछ संकलन ?

नेपाल प्रफिट

२०८३ भदौ १५, सोमबार १६:५४

भोटेकोशी बाढीपीडितका लागि राहत कहाँ कहाँ हुँदैछ संकलन ?

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकका लागि काठमाडौंबाट राहत संकलन, व्यवस्थापन तथा वितरण तीव्र पारिएको छ ।

संघीय सरकारले प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा राहत सामग्री प्रभावित क्षेत्रमा पठाइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पहिचानदेखि संकलन, भण्डारण र वितरणसम्मको अवस्थाबारे निरन्तर समन्वय गरिरहेको जनाएको छ ।

प्राधिकरणका अनुसार ‘सेतु र्यापिड’ प्रणालीमार्फत कुन स्थानमा कस्तो राहत सामग्री आवश्यक छ, कति परिमाणमा आवश्यक छ र उपलब्ध सामग्री कसरी प्रभावित क्षेत्रमा पुर्‍याउने भन्नेबारे जानकारी संकलन भइरहेको छ । यस प्रणालीले वास्तविक आवश्यकता पहिचान गरी सोहीअनुसार राहत परिचालन गर्न सहज बनाएको प्राधिकरणको भनाइ छ ।

भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट र धादिङका त्रिशूली नदी किनारका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि तत्काल राहत उपलब्ध गराउन काठमाडौंमा पाँचवटा संकलन केन्द्र तोकिएका छन् ।

काठमाडौंमा कहाँ संकलन भइरहेको छ राहत ?

काठमाडौं उपत्यकामा विभिन्न संघसंस्था, कम्पनी, क्लब, नागरिक समूह तथा व्यक्तिले उपलब्ध गराउने राहत सामग्री निम्न पाँच स्थानमा सङ्कलन भइरहेको छ ।

  • जिल्ला प्रशासन कार्यालय, काठमाडौं
  • स्वास्थ्य सेवा विभाग, टेकु
  • शहरी विकास तथा भवन निर्माण विभाग, बबरमहल
  • मानवीय सहायता गोदामघर, त्रिभुवन विमानस्थल
  • नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी

संकलन भएका सामग्रीलाई एकद्वार प्रणालीमार्फत व्यवस्थापन गरी सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा उद्धारमा प्रत्यक्ष खटिएका निकायको समन्वयमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ ।

संकलित राहत कहाँ पठाइँदैछ ?

काठमाडौं उपत्यकामा संकलित राहत सामग्री पहिलो चरणमा नुवाकोट र रसुवाका विभिन्न केन्द्रमा पठाइन्छ ।

  • जिल्ला समन्वय समिति हल, विदुर, नुवाकोट
  • विदुर नगरपालिका कार्यालय
  • श्री नं. १ सैन्य तालिम केन्द्र, मैथली, नुवाकोट
  • जिल्ला प्रशासन कार्यालय, रसुवा

यी केन्द्रमा जम्मा भएका राहत सामग्री त्यसपछि प्रभावित बस्ती तथा अस्थायी होल्डिङ सेन्टरमा पुर्‍याएर वितरण भइरहेको छ ।

रसुवामा राहत वितरण हुने स्थान

रसुवामा प्रभावित नागरिकको व्यवस्थापन तथा राहत वितरणका लागि विभिन्न होल्डिङ सेन्टर तोकिएका छन् ।

  • धुन्चे सिटी हल — गोसाइँकुण्ड गाउँपालिका
  • मेलुङ जलविद्युत् क्षेत्र — उत्तरगया गाउँपालिका
  • स्याफ्रु विद्यालय, स्याफ्रुबेँसी — गोसाइँकुण्ड गाउँपालिका
  • राम्चे विद्यालय, राम्चे — कालिका गाउँपालिका
  • डाँडागाउँ, नजिकैको विद्यालय — उत्तरगया गाउँपालिका
  • खैदी गाउँ — गोसाइँकुण्ड गाउँपालिका
  • रोङ्गा — गोसाइँकुण्ड गाउँपालिका
  • नीलकण्ठ माध्यमिक विद्यालय, बोगटिटार — उत्तरगया गाउँपालिका
  • हिमालयन क्याम्पस, कालिकास्थान — कालिका गाउँपालिका
  • खाम्जिङ — गोसाइँकुण्ड गाउँपालिका

जिल्ला प्रशासन कार्यालय, रसुवालाई भने राहत सामग्री संकलन केन्द्रका रूपमा समेत प्रयोग गरिएको छ ।

नुवाकोटमा यी स्थानमा पुग्दैछ राहत

नुवाकोटमा पनि प्रभावित नागरिकका लागि विभिन्न विद्यालय, स्वास्थ्य संस्था, कभर्ड हल तथा सार्वजनिक भवनलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिएको छ ।

  • त्रिभुवन माध्यमिक विद्यालय — किस्पाङ गाउँपालिका
  • कार्की मनकामना आधारभूत विद्यालय, कार्कीगाउँ — किस्पाङ गाउँपालिका
  • टुप्चेटार स्वास्थ्य चौकी तथा पुस्तकालय — विदुर नगरपालिका
  • लक्षण माध्यमिक विद्यालय — विदुर नगरपालिका
  • सुन्दरी क्यौरिनी माध्यमिक विद्यालय — विदुर नगरपालिका
  • इन्द्रायणी आधारभूत विद्यालय, विदुर–१ — विदुर नगरपालिका
  • त्रिशूली आधारभूत विद्यालय — विदुर नगरपालिका
  • कभर्ड हल — विदुर नगरपालिका
  • स्वास्थ्य चौकी, विदुर–२ तथा नुवाकोट दरबार — विदुर नगरपालिका
  • कोलनी कभर्ड हल/भैरुम माध्यमिक विद्यालय — विदुर नगरपालिका
  • क्रियापुत्री भवन — विदुर नगरपालिका
  • तामाङ प्लाजा, विदुर–४, बट्टार — विदुर नगरपालिका
  • चन्द्रज्योति माध्यमिक विद्यालय — विदुर नगरपालिका
  • आयुर्वेद वैकल्पिक चिकित्सालय — विदुर नगरपालिका
  • रणभुवनेश्वरी माध्यमिक विद्यालय/वडा कार्यालय — विदुर नगरपालिका
  • महादेव माध्यमिक विद्यालय — बेलकोटगढी नगरपालिका

खाद्यान्नदेखि टेन्टसम्म राहत सामग्री

प्रभावित क्षेत्रमा पठाइएका राहत सामग्रीमा खाद्यान्नदेखि स्वास्थ्य तथा आवासका सामग्रीसम्म रहेका छन् ।

चामल, चाउचाउ, बिस्कुट, दाल, नुन, खाने तेल, चिनी, पिठो, मिनरल वाटर र जीवनजलसँगै औषधि तथा स्वास्थ्य सामग्री पठाइएको छ ।

त्यस्तै कम्बल, म्याट्रेस, टेन्ट, त्रिपाल, प्लास्टिक सिट, कपडा, बालबालिकाका कपडा, जुत्ता-चप्पल, साबुन, ब्रस, टूथपेस्ट, बाल्टिन, पानी बोक्ने ड्रम, सौर्य तथा आपत्कालीन बत्ती पनि उपलब्ध गराइएको छ ।

प्रभावित क्षेत्रको आवश्यकताअनुसार डिजेल, पेट्रोल, काठदाउरा, कोदालो, कुटो, बञ्चरो, डोरी, पञ्जा, मास्क, सेनेटरी प्याड, बालबालिकाको हेरचाहका सामग्री तथा पशु आहारसमेत पठाइएको छ ।

दोहोरोपन रोक्न एकद्वार प्रणाली

सरकारले राहत सामग्री वितरणमा दोहोरोपन रोक्न तथा वास्तविक आवश्यकताका आधारमा सामग्री परिचालन गर्न एकद्वार प्रणाली अपनाएको जनाएको छ ।

काठमाडौंउपत्यकाबाट संकलन भएका सामग्री सम्बन्धित जिल्लाका सुरक्षा निकाय, उद्धार तथा राहतमा खटिएका निकाय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय तथा निर्देशनमा प्रभावितसम्म पुर्‍याउने व्यवस्था गरिएको छ ।

संघीय सरकारले प्रदेश तथा स्थानीय तहसँग समन्वय गरी तत्काल आवश्यक राहत उपलब्ध गराउनुका साथै दुर्गम र बढी प्रभावित क्षेत्रमा प्राथमिकताका साथ सामग्री पुर्‍याउने काम भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार