• Menu

रसुवा र नुवाकोटका बाढीपीडितलाई केएल दुगड ग्रुपद्वारा दुई ट्रक खाद्यान्न सहयोग

नेपाल प्रफिट

२०८३ भदौ १५, सोमबार १६:५७

रसुवा र नुवाकोटका बाढीपीडितलाई केएल दुगड ग्रुपद्वारा दुई ट्रक खाद्यान्न सहयोग

काठमाडौं । यही भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई केएल दुगड ग्रुपले खाद्यान्न सामग्री सहयोग गरेको छ ।

केएल दुगड ग्रुपले पहिलो चरणमा रसुवा र नुवाकोटका बाढी प्रभावित परिवारका लागि दुई ट्रक खाद्यान्न सामग्री राहतस्वरूप विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरेको जनाएको छ । उक्त राहत सामग्री जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत होमनाथ दाहालको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

राहत सामग्रीमा प्रभावित परिवारका लागि तत्काल आवश्यक चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल, बिस्कुट, चिउरा, विभिन्न मसलालगायत दैनिक उपभोगका अत्यावश्यक खाद्य सामग्री समावेश छन् ।

विपद्का कारण दैनिक जीवनयापनसमेत प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक खाद्य सामग्री उपलब्ध गराई कठिन समयमा केही राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको ग्रुपले जनाएको छ ।

विपद्ले सिर्जना गरेको कठिन परिस्थितिमा खाद्यान्नजस्ता आधारभूत आवश्यकता पूरा गर्नसमेत प्रभावित परिवारका लागि चुनौती बनेको अवस्थामा उनीहरूको दैनिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको ग्रुपको भनाइ छ ।

वर्षा तथा बाढीका कारण सडक सञ्जालमा क्षति पुग्नुका साथै यातायातका बाटो अवरुद्ध भएकाले राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउनसमेत चुनौती देखिएको छ । यस्तो अवस्थामा ग्रुपले थप राहत सामग्री चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पुर्‍याउने जनाएको छ ।

संकटको समयमा प्रभावित परिवारसँगै उभिएर मानवीय सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको एक हिस्सा रहेको ग्रुपले जनाएको छ ।

दुःख र पीडाको यस कठिन घडीमा प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै केएल दुगड ग्रुपले आगामी दिनमा पनि यस्ता राहत तथा मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

केएल दुगड ग्रुपबारे

सन् १९७८ मा स्थापित केएल दुगड ग्रुप नेपालका प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घरानामध्ये एक हो । ग्रुपले मुख्यतः खाद्य सामग्री, खाने तेल, सिमेन्ट तथा इलेक्ट्रोनिक्स उत्पादनको उत्पादन र बजारीकरण गर्दै आएको छ ।

ग्रुपअन्तर्गत बजारमा ज्ञान, स्वस्तिक, सनफ्लावर, धारा, धारा हेल्थ, मेजाना, हिमालयन कफी, चोकोलाटी, युनाइटेड सिमेन्ट्स, स्काइवर्थ, औरा, रिभोयोरलगायत विभिन्न ब्रान्डहरू रहेका छन् ।