• Menu

ब्याजदर घट्दा अर्थतन्त्र र सेयर बजारमा कस्तो असर पर्छ ?

नेपाल प्रफिट

२०८३ भदौ २, मंगलबार १३:५७


काठमाडौं । नेपालमा बैंकिङ प्रणालीमा तरलता उच्च रहे पछि केही वाणिज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । पाँच वटा बैंकले ब्याजदर घटाएका छन् भने १५ वटाले साउनकै दरलाई निरन्तरता दिएका छन् । ब्याजदरमा आएको यो गिरावटले सर्वसाधारणको बचतदेखि कर्जा, लगानी र सेयर बजारसम्म प्रभाव पार्ने देखिन्छ ।

व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशतमा झरेको छ । साउनमा यस्तो दर ४.१६७५ प्रतिशत थियो । त्यस्तै, संस्थागत निक्षेपको औसत ब्याजदर पनि ३.११६ प्रतिशतबाट घटेर ३.०८१ प्रतिशतमा आएको छ ।

सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.२ प्रतिशत विन्दुले घटाएर ३.७६ प्रतिशत कायम गरेको छ । संस्थागत निक्षेपको दर भने ३ दशमलव शून्य ५ प्रतिशत छ ।

नेपाल बैंकले व्यक्तिगत निक्षेपमा ४.१५ प्रतिशत र संस्थागत निक्षेपमा ३.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यस्तै, व्यक्तिगत निक्षेपमा सिटिजन्स बैंकले ३.८५ प्रतिशत, कुमारी बैंकले ३.७६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

बाँकी १५ वाणिज्य बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । नबिल र प्रभु बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याजदर दिइरहेका छन् ।

आर्थिक प्रभाव

ब्याजदर घट्नुको पहिलो संकेत बैंकिङ प्रणालीमा पैसा पर्याप्त छ भन्ने हो ।

जब बैंकहरूसँग कर्जा प्रवाह गर्न पर्याप्त रकम हुन्छ तर कर्जाको माग तुलनात्मक रूपमा कमजोर हुन्छ, बैंकहरूबीच निक्षेप तान्नका लागि उच्च ब्याजदर दिने प्रतिस्पर्धा कम हुन्छ । अझ भनौं निक्षेप निरुत्साहित गर्न ब्याजदर घटाउँछन् ।

ब्याजदर घट्दा के हुन्छ ।

१. कर्जा सस्तो हुन सक्ने सम्भावना

निक्षेपको लागत घटेपछि बैंकहरूको कस्ट अफ फण्ड घट्छ र यसले कर्जाको ब्याजदर पनि क्रमश घटाउँदै लैजान्छ ।

यसबाट,

व्यवसायीको ऋण लागत घट्छ ।

नयाँ लगानी प्रोत्साहित हुन सक्छ ।

घर, गाडी तथा व्यवसायिक कर्जाको माग बढ्न सक्छ ।

निजी क्षेत्रको लगानी र आर्थिक गतिविधि विस्तार हुन सक्छ ।

२. बचतकर्तालाई नकारात्मक प्रभाव

ब्याजदर घट्दा सबैभन्दा प्रत्यक्ष असर निक्षेपकर्तालाई पर्छ । उदाहरणका लागि, बैंकमा ठूलो रकम मुद्दती निक्षेपमा राखेर त्यसबाट प्राप्त ब्याजलाई आम्दानीको स्रोत बनाइरहेका व्यक्ति तथा संस्थाको ब्याज आम्दानी घट्न सक्छ । यसले बचतभन्दा अन्य लगानीका विकल्पतर्फ पैसा जान सक्ने सम्भावना बढाउँछ।

३. उपभोग र लगानीमा प्रभाव

ब्याजदर कम हुँदा बैंकमा पैसा राखेर प्राप्त हुने प्रतिफल घट्छ । अर्कोतर्फ ऋण सस्तो भएमा व्यवसायी तथा उपभोक्ताले ऋण लिएर लगानी वा खर्च गर्न सक्छन् । त्यसैले लामो समयसम्म ब्याजदर न्यून रह्यो भने निक्षेपबाट लगानीतर्फ पूँजी सर्ने वातावरण बन्न सक्छ।

सेयरबजारमा असर

सेयर बजारका लागि भने घट्दो ब्याजदर सामान्यतः सकारात्मक संकेत मानिन्छ ।

१. निक्षेपको ब्याजदर घट्दा निक्षेपकर्ताले वैकल्पिक प्रतिफल खोज्छन् । त्यसको एउटा प्रमुख विकल्प सेयरबजार हो । जसले बजारमा सेयरको माग बढाउन सक्छ ।

२. बैंक तथा वित्तीय संस्थाको सेयरमा प्रभाव पर्न सक्छ । निक्षेपको लागत घट्ने र कर्जाको माग बढ्ने भयो भने बैंकको नाफामा सकारात्मक प्रभाव पर्छ । जसले बैंकको सेयरमूल्यमा पनि वृद्धि हुन सक्छ । तर यो कुरा पनि बुझ्नु महत्वपूर्ण हुन्छ कि ब्याजदर घट्नु मात्र बैंकको नाफा बढ्ने ग्यारेन्टी भने होइन ।

यदि कर्जाको माग कमजोर रह्यो, खराब कर्जा बढ्यो वा बैंकहरूले कर्जा ब्याजदर पनि आक्रामक रूपमा घटाउनुपर्‍यो भने नाफामा अपेक्षित सुधार नआउन सक्छ ।

३. कम ब्याजदरले बैंकिङबाहेक जलविद्युत्, उत्पादन, होटल तथा पर्यटन र अन्य व्यवसायिक कम्पनीहरूलाई पनि अप्रत्यक्ष फाइदा दिन सक्छ । त्यो कसरी भने ऋणको लागत घटेमा कम्पनीको वित्तीय खर्च कम हुन सक्छ र भविष्यको नाफामा सुधार आउन सक्छ ।

अब यहाँ बुझ्नुपर्ने महत्वपूर्ण कुरा के छ भने ब्याजदर घट्नु सेयर बजार बढ्ने एक महत्वपूर्ण आधार हो, तर यो मात्रै कारणले बजार बढीहाल्छ भन्ने छैन ।

नेप्सेमा प्रभाव पार्ने अन्य प्रमुख पक्षहरू पनि छन् । जस्तै,

बैंकहरूको कर्जा प्रवाह

तरलताको अवस्था

लगानीकर्ताको मनोबल

कम्पनीहरूको त्रैमासिक नाफा

खराब कर्जा तथा प्रोभिजन

मौद्रिक नीतिको दिशा

सरकारी पूँजीगत खर्च

राजनीतिक तथा नियामकीय वातावरण

त्यसैले अहिलेको ब्याजदर घटाइलाई सेयर बजारका लागि सकारात्मक liquidity signal  का रूपमा हेर्न सकिन्छ । तर त्यसको वास्तविक प्रभाव देखिन तरलता सेयर बजारमा प्रवेश गर्छ कि कर्जा विस्तारमा जान्छ, त्यसमा निर्भर हुन्छ ।

समग्रमा, भदौमा बैंकहरूको निक्षेप ब्याजदरमा आएको गिरावटले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको संकेत गर्छ । यसले कर्जाको लागत घटाउने, निजी क्षेत्रको लगानी बढाउने र बैंकको वित्तीय लागत कम गर्ने आधार बनाउन सक्छ ।

तर बचतकर्ताका लागि भने कम ब्याजदर चुनौतीपूर्ण बन्न सक्छ । सेयर बजारका लागि भने बैंक निक्षेपको घट्दो प्रतिफलले लगानीकर्तालाई सेयर बजारतर्फ आकर्षित गर्ने सम्भावना बढाएको छ । अब बजारले यो सस्तो तरलतालाई कति ग्रहण गर्छ भन्ने नै महत्वपूर्ण हुनेछ ।