काठमाडौं । नेपालको चर्चित अटोमोबाइल प्रदर्शनी नाडा अटो शोको १८औँ संस्करण भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सोमबार कार्यक्रम आयोजना गर्दै नाडा अटो शो २०२६ को औपचारिक घोषणा गरेको हो ।
नाडाको ५०औँ वार्षिक उत्सवलाई समेत जोडेर यसपटकको प्रदर्शनीलाई विशेष बनाउने तयारी गरिएको छ ।
६ दिनसम्म चल्ने प्रदर्शनीमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनसँगै टायर, लुब्रिकेन्ट्स, अटोमोबाइल पार्टपुर्जा, एसेसरिज, ग्यारेज उपकरण तथा वित्तीय र बीमा सेवासमेत एउटै थलोमा देख्न पाइनेछ ।
प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहने नाडाले जनाएको छ । यसपटकको अटो शोको शीर्ष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ ।
नाडाका अनुसार प्रदर्शनीमा प्यासेन्जर सेग्मेन्टका २३ वटा ब्रान्ड, लाइट कमर्सियल भेहिकलका १७ वटा ब्रान्ड र दुईपाङ्ग्रे सवारीका १३ वटा ब्रान्ड सहभागी हुनेछन् । त्यस्तै, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक र करिब ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण तथा अन्य उत्पादन र सेवाका स्टल रहनेछन् ।
यसपटकको प्रदर्शनीमा नेपालमै एसेम्बल हुने सवारीसाधनका साथै लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेटलगायत नेपाली बजारमा उपलब्ध विभिन्न सामग्रीसमेत प्रदर्शन गरिनेछ ।
नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले अटो शोको मुख्य उद्देश्य अटोमोबाइल क्षेत्रका विभिन्न व्यवसाय र ब्रान्डलाई एउटै मञ्चमा ल्याउनु रहेको बताए । उनका अनुसार प्रदर्शनीमार्फत आगन्तुकले बजारमा भित्रिएका नयाँ सवारीसाधन, प्रविधि र नवप्रवर्तनलाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर पाउनेछन् ।
नाडाले अटो शोले उपभोक्तामा अटोमोबाइलसम्बन्धी जानकारी बढाउनुका साथै व्यवसायीबीचको नेटवर्क विस्तार र नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकासमा समेत योगदान पुग्ने अपेक्षा गरेको छ ।