• Menu

नाइमा मोबिलिटी एक्स्पो : ३ दिनमै ७७ हजारभन्दा बढीले गरे अवलोकन

नेपाल प्रफिट

२०८३ साउन २९, शुक्रबार ११:४६

नाइमा मोबिलिटी एक्स्पो : ३ दिनमै ७७ हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा तीन दिनमै ७७ हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका छन् । आयोजकका अनुसार पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढी अवलोकनकर्ता प्रदर्शनीमा पुगेका छन् ।

भारी वर्षाका बाबजुद पनि तेस्रो दिन प्रदर्शनीमा उल्लेख्य भीड लागेको थियो । प्रदर्शनीमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन राखिएका छन् । विभिन्न कम्पनीले नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्दै ग्राहक तथा अवलोकनकर्तालाई आकर्षित गरिरहेका छन् ।

धेरै ब्रान्ड र मोडल उपलब्ध भएकाले आफ्नो आवश्यकता तथा बजेटअनुसार सवारीसाधन छनोट गर्न सहज भएको अवलोकनकर्ताले बताएका छन् । ललितपुरको भैंसेपाटीका विक्रम सुवेदीले प्रदर्शनीमा विभिन्न मूल्यका सवारीसाधन उपलब्ध रहेको बताए । उनका अनुसार १६-१७ लाख रुपैयाँदेखि तीन करोड रुपैयाँभन्दा बढी मूल्यका चारपाङ्ग्रे सवारीसाधन प्रदर्शनीमा राखिएका छन् ।

दुईपाङ्ग्रे सवारीसाधनतर्फ पनि उल्लेख्य भीड देखिएको छ । विशेषगरी महँगा ब्रान्डका सवारीसाधनमा युवाको आकर्षण बढी देखिएको छ ।

अवलोकनकर्ताले आफ्नो आवश्यकता र क्षमताअनुसार सवारीसाधन खरिद तथा बुकिङ गर्न प्रदर्शनी महत्वपूर्ण अवसर भएको बताएका छन् । उनीहरूले विशेषगरी ब्याट्री क्षमता, मोटर, एकपटक चार्ज गर्दा पुग्ने दूरी, बिक्रीपछिको सेवा, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र पुनः बिक्री मूल्यबारे चासो राखेका छन् ।

ग्राहक आकर्षित गर्न विभिन्न कम्पनीले मूल्यमा छुट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, निःशुल्क मर्मत सेवा तथा सहुलियत ब्याजदरमा कर्जालगायत सुविधा उपलब्ध गराएका छन् ।

प्रदर्शनीमा हालसम्म विभिन्न ब्रान्डले ५२ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन् । प्रदर्शनी अवधिभर करिब डेढ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रदर्शनीअन्तर्गत बिहीबार ‘वित्त तथा बीमामार्फत यातायात क्षेत्रको गतिशीलता’ विषयमा छलफल तथा अन्तर्क्रिया भएको थियो । उद्यमी एवं वित्तीय साक्षरता विज्ञ संजोग कोइरालाले सहजीकरण गर्नुभएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदी, ग्लोबल आइएमई बैंकका प्रमुख बजार अधिकृत राजा अर्याल, एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र हुलास फिनसर्भ हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुर सहभागी थिए ।

बुधबारको सिकाइ सत्रमा ‘यातायात : हिजो, आज र भोलि’ विषयमा छलफल भएको थियो । प्रदर्शनीको पहिलो दिन ‘लगानी तथा प्रत्यक्ष वैदेशिक लगानी : आर्थिक वृद्धिका लागि गतिशील ऊर्जा’ विषयमा छलफल गरिएको थियो । प्रदर्शनी अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा विभिन्न विषयमा संवाद सञ्चालन हुने आयोजकले जनाएको छ ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको प्रदर्शनी साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता तथा आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ ।

नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि विभिन्न नयाँ मोडलका विद्युतीय कार, विद्युतीय स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन प्रदर्शनीका मुख्य आकर्षण बनेका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले सवारीसाधन खरिदका लागि विशेष सुविधा तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् ।

प्रदर्शनीको सहप्रायोजकमा ग्लोबल आइएमई बैंक, मुख्य ऊर्जा सहयोगीमा रेडबुल, बैंकिङ साझेदारमा एनएमबी बैंक र सिद्धार्थ बैंक तथा बीमा साझेदारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन् ।

प्रविधि साझेदारमा बोस, शिक्षा साझेदारमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ साझेदारमा अग्नि इनर्जी र अजायल इन्जिनियरिङ सोलुसन्स तथा यातायात साझेदारमा पठाओ नेपाल रहेका छन् । पानी तथा पेय पदार्थ साझेदारमा अक्वा मिनरल्स, आतिथ्य साझेदारमा द सोल्टी काठमाडौं र स्वास्थ्य साझेदारमा ग्रान्डी इन्टरनेसनल हस्पिटल रहेका छन् ।

सुरक्षा निगरानी साझेदारमा भत्सल इम्पेक्स (हिकभिजन) तथा अग्नि सुरक्षा साझेदारमा हिट्को रहेका छन् । सह-टिकटिङ साझेदारमा आइएमई खल्ती, क्यूआर साझेदारमा युनियन पे, श्रव्यदृश्य साझेदारमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क तथा डिजिटल साझेदारमा डिजिपल सोलुसन्स रहेका छन् ।

त्यस्तै, सवारीसाधन सुरक्षा साझेदारमा एटीएस नेपाल, व्यवस्थापन साझेदारमा मिडिया स्पेस सोलुसन्स, सम्पर्क तथा इन्टरनेट साझेदारमा वर्ल्डलिंक कम्युनिकेसन्स र प्रकाशन साझेदारमा प्रफिट मिडिया रहेका छन् ।