• Menu

नाइमा मोबिलिटी संवाद

६० प्रतिशत अटो कर्जा ग्राहक ४० वर्षमुनिका, इभीमा सहज नीतिको माग

नेपाल प्रफिट

२०८३ साउन २९, शुक्रबार ११:४१

६० प्रतिशत अटो कर्जा ग्राहक ४० वर्षमुनिका, इभीमा सहज नीतिको माग

काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै गएसँगै जोखिम व्यवस्थापन, बिमा दाबीको सहज प्रक्रिया र ग्राहकलाई सरल रूपमा कर्जा उपलब्ध गराउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’का अवसरमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयक नाइमा मोबिलिटी संवादमा सहभागी सरोकारवालाले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले कर्जा प्रवाहमा जोखिम व्यवस्थापनका लागि कर्जा-मूल्य अनुपात महत्वपूर्ण रहेको बताउनुभयो । सन् २००७/०८ को विश्वव्यापी वित्तीय संकटपछि बैंकको पुँजी मात्र पर्याप्त नहुने देखिएपछि कर्जा-मूल्य अनुपातको व्यवस्था गरिएको उनले बताए ।

उनका अनुसार हायर पर्चेज कर्जामा सुरुमा ५० प्रतिशत कर्जा-मूल्य अनुपात कायम गरिएकोमा अहिले विद्युतीय सवारीसाधनमा ८० प्रतिशत र इन्धनबाट चल्ने सवारीसाधनमा ६० प्रतिशत कायम गरिएको छ । ब्याजदर बढ्दा ऋणीलाई समेत समस्या हुने भएकाले जोखिम न्यूनीकरणका लागि कर्जा–मूल्य अनुपात आवश्यक रहेको उनको भनाइ छ ।

‘कर्जा भुक्तानीमा समस्या बढ्दै गए आयातकर्ता, ऋणी र ऋणदाता सबै समस्यामा पर्न सक्छन्,’ सुवेदीले भने, ‘कर्जा-मूल्य अनुपात परिवर्तन हुने विषय राज्यको नीति र सोचमा निर्भर रहन्छ । आवश्यकताअनुसार यसमा परिवर्तन हुन सक्छ ।’

विद्युतीय सवारीसाधन हरित वित्तअन्तर्गत पर्ने भएकाले त्यसमा कर्जा-मूल्य अनुपात केही सहज बनाइएको उनले बताए । उनले अटो कर्जा र हायर पर्चेज कर्जालाई एउटै रूपमा बुझ्न नहुने स्पष्ट पार्दै हायर पर्चेजअन्तर्गत सवारीसाधनसँगै मोबाइल तथा घरायसी सामग्रीमा समेत कर्जा प्रवाह भइरहेको जानकारी दिए ।

उनका अनुसार हाल बैंक तथा वित्तीय प्रणालीको कुल कर्जा करिब ६० खर्ब रुपैयाँ रहेकामा हायर पर्चेज कर्जाको हिस्सा १ खर्ब ४२ अर्ब रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा हायर पर्चेज कर्जा १० प्रतिशतले बढेको उनले जानकारी दिए ।

हायर पर्चेज कर्जामा खराब कर्जा कम रहेकाले बैंकहरू केही कम मार्जिनमा समेत कर्जा दिन तयार रहेको उनले बताए । अटो कर्जाका कारण तत्कालै ठूलो जोखिम उत्पन्न हुने अवस्था नदेखिए पनि एउटा क्षेत्रमा आएको समस्या अन्य क्षेत्रमा समेत फैलिन सक्ने भएकाले राष्ट्र बैंक सचेत रहेको उनको भनाइ छ ।

यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अटो बिमा दाबीका विषयमा समस्या हुने धारणा बने पनि बीमा दाबीका निश्चित आधार र प्रक्रिया रहेको बताए । बिमा दाबीको प्रक्रिया र आवश्यक प्रमाणबारे स्पष्ट जानकारी भए दाबी फर्छ्योट सहज हुने उनको भनाइ छ ।

क्षतिको सही विवरण र त्यसलाई पुष्टि गर्ने आवश्यक कागजात उपलब्ध गराए बिमा दाबी निष्पक्ष र पारदर्शी रूपमा फर्छ्योट गर्न सहज हुने उनले बताए । बिमा प्राधिकरणले छिटो भुक्तानीका लागि आवश्यक निर्देशन दिँदै आएको र दाबीको अवस्था डिजिटल माध्यमबाट समेत हेर्न सकिने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

पन्तले घरायसी सामग्रीमा बिमाको अभ्यास न्यून रहेको बताउँदै सवारीसाधन र मोबाइल फोनमा भने बीमा बढी देखिएको उल्लेख गरे । विद्युतीय सवारीसाधनको बीमामा ब्याट्रीको मूल्यांकन गर्दा ५० प्रतिशतसम्म मात्र ह्रासकट्टी हुने व्यवस्था रहेको उनले जानकारी दिए ।

हुलास फिनसर्भ हायर पर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले हायर पर्चेज कम्पनीलाई राष्ट्र बैंकले कर्जा प्रवाह गर्न सक्ने क्षेत्र छुट्याएको बताए । यस्ता कम्पनीले बैंकसम्म सहज पहुँच पुग्न नसक्ने ग्राहकलाई लक्षित गरी सवारीसाधन तथा घरायसी सामग्रीमा कर्जा उपलब्ध गराउँदै आएको उनले बताए ।

उनका अनुसार हायर पर्चेज कम्पनीहरूले हालसम्म करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन् । पछिल्लो कर्जा प्रवाहमध्ये ८० प्रतिशत सवारीसाधन र २० प्रतिशत मोबाइलमा रहेको उनले जानकारी दिए । बैंकिङ प्रक्रिया पूरा गर्न नसकेका वा सानो कर्जा आवश्यक पर्ने ग्राहकलाई समेत हायर पर्चेज कम्पनीले केही घण्टामै कर्जा उपलब्ध गराउने गरेको उनले बताए ।

ठाकुरका अनुसार हायर पर्चेज कर्जा लिने ग्राहकमा ४० वर्षभन्दा कम उमेर समूहको हिस्सा ६० प्रतिशत रहेको छ ।

कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रमुख बजार अधिकृत राजा अर्यालले स्थिर आम्दानी भएका ग्राहकले हायर पर्चेज कर्जा बढी लिने गरेको बताए । पहिले सवारीसाधन खरिद गर्ने औसत उमेर ४३ वर्ष रहेकामा अहिले त्यो उमेर घट्दै गएको उनले बताए ।

उनका अनुसार हायर पर्चेज कर्जा लिने ६० प्रतिशत ग्राहक ४० वर्षभन्दा कम उमेरका छन् । त्यसमध्ये महिलाको सहभागिता पनि उल्लेख्य रहेको उनले जानकारी दिए ।

सवारीसाधन कर्जाको बजार काठमाडौंमा केन्द्रित रहे पनि पछिल्लो समय कर्जा प्रवाह अन्य सहरमा समेत विस्तार हुँदै गएको अर्यालले बताए । स्थिर आम्दानीको स्रोत भएका तथा विद्यार्थीले समेत सवारीसाधन खरिदका लागि कर्जा लिन सक्ने वातावरण बन्दै गएको उनको भनाइ छ ।

हायर पर्चेज कम्पनीलाई बैंकले कर्जा उपलब्ध गराउँदा बैंकलाई समेत सहज हुने र जोखिम व्यवस्थापनमा सहयोग पुग्ने उनले बताए । आवश्यक सबै कागजात पूरा भएका ग्राहकलाई बैंकले अर्को दिनमै कर्जा प्रवाह गर्न सक्ने उनको भनाइ छ ।