• Menu

कङ्गोमा इबोलाबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो, चार हजारभन्दा बढी संक्रमित

नेपाल प्रफिट

२०८३ साउन २७, बुधबार १६:५७

कङ्गोमा इबोलाबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो, चार हजारभन्दा बढी संक्रमित

एजेन्सी । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ। तीन महिनाअघि प्रकोप घोषणा गरिएको कङ्गोमा संक्रमण तीव्र गतिमा फैलिरहेको जनाइएको छ।

अल जजिराले आधिकारिक सरकारी तथ्यांकलाई उद्धृत गर्दै पछिल्लो तीन हप्तामा मात्रै कम्तीमा एक हजार जनाको मृत्यु भएको जनाएको छ। मंगलबारसम्म कङ्गोका पाँच प्रान्तमा चार हजार ३८१ जनामा इबोला संक्रमण पुष्टि भएकोमा दुई हजार ११ जनाको मृत्यु भएको जनाइएको छ।

इबोला महामारी तीव्र रूपमा बढिरहेकाले संक्रमण नियन्त्रणका लागि तत्काल सहयोग गर्न अन्तर्राष्ट्रिय अधिकारीहरूले अपिल गरेका छन्। संयुक्त राष्ट्र संघीय आपत्कालीन राहत संयोजकद्वारा नियुक्त वरिष्ठ इबोला संयोजक जुलियन हार्नेसले सामाजिक सञ्जाल एक्समार्फत संक्रमण का कारण बढ्दो मानवीय क्षतिप्रति चिन्ता व्यक्त गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले उपचारका लागि आवश्यक पूर्वाधार सुदृढीकरण गर्न लिटामा आफूले निर्माण गरेको उपचार केन्द्रको विस्तार भइरहेको जनाएको छ। उक्त प्रयासमा स्वास्थ्य मन्त्रालयसँगै संयुक्त राष्ट्र संघीय बाल कोष, विश्व खाद्य कार्यक्रमलगायत मानवीय साझेदारले सहयोग गरिरहेका छन्।

गत साता रोग नियन्त्रण तथा रोकथामका लागि अफ्रिका केन्द्र र विश्व स्वास्थ्य संगठनले कङ्गोमा समुदायको नेतृत्वमा हुने संक्रमण नियन्त्रणसम्बन्धी गतिविधिलाई तत्काल विस्तार गर्न संयुक्त रूपमा आह्वान गरेका थिए।

विश्व स्वास्थ्य संगठनका अनुसार अगस्ट ४ र ५ मा महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस, रोग नियन्त्रण तथा रोकथामका लागि अफ्रिका केन्द्रका महानिर्देशक जीन कासेया तथा अफ्रिकाका लागि विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीको नेतृत्वमा युगान्डा र कङ्गोमा भएको संयुक्त उच्चस्तरीय भ्रमणपछि उक्त प्रयास अघि बढाइएको हो।

इबोला भाइरसको बुन्डिबुग्यो प्रजातिको संक्रमण बाट हुने इबोला रोग गम्भीर भाइरल रक्तस्रावी ज्वरो हो। यसले उच्च मृत्युदर निम्त्याउन सक्ने जनाइएको छ। हालसम्म बुन्डिबुग्यो भाइरसबाट हुने इबोला रोगको रोकथाम वा उपचारका लागि कुनै खोप वा विशेष उपचार स्वीकृत नभएको जनाइएको छ।

सम्बन्धित समाचार