• Menu

स्टेट अफ होर्मुजमा अमेरिकी नाकाबन्दी तोड्न खोज्ने कार्गो जहाजमा अमेरिकी हेलिकप्टरको मिसाइल प्रहार

नेपाल प्रफिट

२०८३ साउन २७, बुधबार १५:५०

स्टेट अफ होर्मुजमा अमेरिकी नाकाबन्दी तोड्न खोज्ने कार्गो जहाजमा अमेरिकी हेलिकप्टरको मिसाइल प्रहार

एजेन्सी  । होर्मुज जलडमरूमध्यमा अमेरिकी नाकाबन्दी तोडेर अघि बढ्न खोजेको कार्गो जहाजमा अमेरिकी सेनाले आक्रमण गरेको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार अमेरिकी नौसेनाको एमएच-६० हेलिकप्टरले एमभी वेला नोभा नामक कार्गो जहाजमाथि क्षेप्यास्त्र प्रहार गरेको हो ।

सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत जहाजले अमेरिकी सेनाले पटक-पटक दिएको चेतावनी बेवास्ता गर्दै नाकाबन्दी क्षेत्रबाट अघि बढ्न खोजेपछि कारबाही गरिएको जनाएको छ । आक्रमणपछि जहाजलाई अघि बढ्नबाट रोकिएको सेन्टकमको भनाइ छ ।

गत जुलाई १४ मा इरानी बन्दरगाहमा अमेरिकाले पुनः नाकाबन्दी लागू गरेपछि इरानविरुद्ध जारी एक महिना लामो युद्धका क्रममा अमेरिकी सेनाले जबर्जस्ती जहाज रोकेको यो तेस्रो घटना भएको जनाइएको छ । सेन्टकमका अनुसार मंगलबारसम्म नाकाबन्दी बेवास्ता गरी अघि बढ्न खोजेका जहाजलाई रोक्नुका साथै उक्त क्षेत्रमा सञ्चालनमा रहेका अन्य जहाजलाई समेत वैकल्पिक मार्गतर्फ पठाइएको छ ।

अमेरिकी सेनाले यसअघि अप्रिल १३ देखि जुन १८ सम्म इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको थियो । उक्त अवधिमा नौवटा कार्गो जहाजलाई निष्क्रिय पार्नुका साथै १४० भन्दा बढी जहाजलाई अन्यत्र मार्ग परिवर्तन गर्न लगाइएको सेन्टकमले जनाएको छ ।

यता इरानले युद्धअघि तेल तथा ग्यास ढुवानीको प्रमुख मार्गका रूपमा रहेको होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउन अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्नुपर्ने माग गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने रणनीतिक महत्त्वको होर्मुज जलडमरूमध्य अमेरिकाको नियन्त्रणमा रहेको दाबी गर्दै नाकाबन्दी जारी राख्ने अडान लिँदै आएका छन् ।