
काठमाडौं । मुक्तिनाथ विकास बैंक एक खर्ब कर्जा प्रवाह गर्ने पहिलो विकास बैंक बनेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार बैंकले १ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
गत आर्थिक वर्षमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव चार चार प्रतिशत धेरै हो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि नाफामा सकारात्मक प्रभाव परेको हो । कर्जा नोक्सानी व्यवस्थावापत छुट्याउनुपर्ने इम्पेरमेन्ट चार्ज ७९ करोड ३५ लाख रुपैयाँबाट घटेर ५७ करोड २३ लाख रुपैयाँमा झरेको छ। बैंकको वितरणयोग्य मुनाफा ६७ करोड ५७ लाख रुपैयाँ छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४५ पैसा रहेको छ।
नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी १८ पैसा घटेर १८ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
यस्तै बैंकको मूल्य आम्दानी अनुपात १९ दशमलव एक तीन गुणा रहेको र प्रतिसेयर नेटवर्थ १ सय ६१ रुपैयाँ ८२ पैसा रहेको छ। बैंकको चुक्ता पुँजी ८ अर्ब ३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ सञ्चित छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal