
काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ साउन २६ गते बसेको बैठकले विभिन्न पाँच महत्वपूर्ण निर्णय गरेको छ। सरकारले विद्युतीय एम्बुलेन्स तथा शव वाहनमा कर छुटदेखि एनसेलको सेयर खरिद-बिक्रीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्नेसम्मका निर्णय गरेको हो।
बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि करमा पूर्ण छुट दिने निर्णय गरेको छ।
त्यस्तै, सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरिएको छ। सहिद घोषणा हुनेमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहता तथा सिराहाका गणेशकुमार यादव रहेका छन्।
मन्त्रिपरिषद्ले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णयसमेत गरेको छ।
त्यसैगरी, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको छ।
सरकारले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद-बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal