
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतसँग स्पष्टीकरण मागेको छ ।
गाउँपालिकाको कार्यालयमा सेवा लिन पुगेका एक ज्येष्ठ नागरिकप्रति गरिएको व्यवहारका विषयमा विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा नागरिकस्तरबाट मन्त्रालयमा उजुरी र गुनासो प्राप्त भएपछि स्पष्टीकरण मागिएको हो ।
मन्त्रालयले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र मन्त्रालयमा उपस्थित भई लिखित स्पष्टीकरण पेस गर्न प्रमुख प्रशासकीय अधिकृत राउतलाई निर्देशन दिएको छ ।
सार्वजनिक पदमा रहेका पदाधिकारी तथा कर्मचारीले सेवाग्राहीसँग सम्मानजनक, मर्यादित र उचित व्यवहार गर्नुपर्ने भन्दै मन्त्रालयले ज्येष्ठ नागरिकप्रति त्यस्तो व्यवहार हुन गएको भए त्यसको कारणसमेत स्पष्ट पार्न भनेको छ ।
मन्त्रालयले घटनासम्बन्धी तथ्य र परिस्थितिबारे लिखित रूपमा स्पष्टीकरण पेस गर्न निर्देशन दिँदै आगामी दिनमा सेवाग्राहीप्रति जिम्मेवार र मर्यादित व्यवहार सुनिश्चित गर्नसमेत ध्यानाकर्षण गराएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal