
काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंक लिमिटेडबीच नागढुंगा-सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्दा लाग्ने प्रवेश तथा उपभोग शुल्क नगदरहित माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाउने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार सुरुङमार्ग प्रवेश गर्दा लाग्ने शुल्क विद्युतीय पहिचान प्रणालीमार्फत व्यवस्थापन गरिनेछ। ट्रक तथा अन्य सवारीसाधन व्यवसायीले क्यूआर कोडमार्फत सहज रूपमा शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था गरिनेछ। यसबाट सुरुङमार्ग प्रयोग गर्ने व्यवसायीले नगद बोकेर शुल्क तिर्नुपर्ने बाध्यता हट्नुका साथै भुक्तानी प्रक्रिया सहज, छरितो र पारदर्शी हुने अपेक्षा गरिएको छ।
सम्झौतामा नेपाल ट्रक यातायात व्यवसायी महासंघका तर्फबाट अध्यक्ष राजेन्द्र विक्रम बाँनिया र सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले हस्ताक्षर गरेका हुन् ।
सरकारले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै नागढुंगा सुरुङमार्गमा सञ्चालन हुने सवारीसाधनबाट सुरुङमार्ग उपभोगबापत शुल्क लिने निर्णय यसअघि नै गरेको थियो। सोही निर्णयअनुसार विभिन्न सवारीसाधनका लागि प्रवेश तथा बाहिरिने शुल्क तोकिएको छ।
तोकिएको दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
त्यस्तै, मिनी बस तथा मिनी टिपर वा ट्रकले प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ। बस तथा एक पछाडिको धुरी भएका ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ।
बहुधुरी भएका ट्रक तथा अन्य भारी सवारीसाधन र भारी उपकरणका लागि प्रवेश शुल्क ६०० रुपैयाँ तथा बाहिरिने शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ।
नगदरहित भुक्तानी प्रणाली लागू भएपछि नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने ट्रक तथा मालवाहक सवारीसाधन व्यवसायीलाई शुल्क तिर्न थप सहज हुने महासंघका अध्यक्ष बाँनियाले बताएका छना् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal