• Menu

नेपालमा रेड्मी वाच-६, लाइट र एक्टिभ सार्वजनिक, मूल्य १०,९९९ देखि सुरु

नेपाल प्रफिट

२०८३ साउन २६, मंगलबार १६:१४

नेपालमा रेड्मी वाच-६, लाइट र एक्टिभ सार्वजनिक, मूल्य १०,९९९ देखि सुरु

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले आकर्षक डिजाइन, स्वास्थ्य निगरानीका आधुनिक सुविधा र लामो समयसम्म चल्ने ब्याट्रीसहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक गरेको छ। सिरिजअन्तर्गत रेड्मी वाच-६, रेड्मी वाच-६ लाइट र रेड्मी वाच-६ एक्टिभ गरी तीनवटा मोडल रहेका छन्।

सिरिजको प्रमुख मोडल रेड्मी वाच-६ मा २.०७ इन्चको एमोलेड पर्दा रहेको छ। यसको अधिकतम चमक २ हजार निट्ससम्म पुग्छ। आल्मुनियम मिश्रधातुको फ्रेम रहेको यस घडीको ब्याट्री सामान्य प्रयोगमा २४ दिनसम्म चल्ने कम्पनीले जनाएको छ।

यसमा दोहोरो एल१ प्रविधिसहित पाँचवटा उपग्रह प्रणालीबाट स्थान पहिचान गर्ने सुविधा रहेको छ। विभिन्न स्वास्थ्यसम्बन्धी निगरानी सुविधा तथा दुईवटा बटनबाट सहज रूपमा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। पाँच एटीएमसम्म पानी प्रतिरोधी क्षमता रहेकाले पानीको सम्पर्कमा आउँदा पनि घडी सुरक्षित रहने कम्पनीको भनाइ छ।

त्यसैगरी, रेड्मी वाच-६ लाइटमा १.९६ इन्चको एमोलेड पर्दा र १ हजार ५ सय निट्ससम्मको अधिकतम चमक रहेको छ। पाँच एटीएम पानी प्रतिरोधी क्षमतासहितको यस घडीमा फोन सम्पर्क, १५० भन्दा बढी खेलकुदका विधि, विभिन्न उपग्रह प्रणालीमा आधारित स्थान पहिचान, नौ-अक्षीय गति मापन गर्ने संवेदक तथा पौडीका लागि विशेष विधि उपलब्ध छन्।

४७० एमएएच क्षमताको ब्याट्रीले सामान्य प्रयोगमा १८ दिनसम्म साथ दिने कम्पनीले जनाएको छ। यसमा मुटुको धड्कन मापन गर्ने संवेदक, प्रकाश मापन गर्ने संवेदक तथा गति मापन गर्ने संवेदकलगायतका सुविधा रहेका छन्।

रेड्मी वाच-६ एक्टिभमा १.८५ इन्चको एमोलेड पर्दा र १ हजार २ सय निट्ससम्मको अधिकतम चमक रहेको छ। यसमा धुलो तथा पानीबाट सुरक्षित रहने आईपी६८ स्तरको क्षमता दिइएको छ। ९.९ मिलिमिटरको पातलो तथा हलुका समतल किनारा भएको डिजाइन र सजिलै फेर्न मिल्ने पट्टीका कारण यो दैनिक प्रयोगका लागि सहज रहेको कम्पनीले जनाएको छ।

यसमा फोन सम्पर्कका साथै दिनभर मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा र तनावको निगरानी गर्ने सुविधा रहेको छ। सामान्य प्रयोगमा यसको ब्याट्री १८ दिनसम्म चल्ने बताइएको छ।

रेड्मी वाच-६ हिमनदी निलो, कालो र चाँदी खैरो रङमा उपलब्ध छ। यसको मूल्य २० हजार ४९९ रुपैयाँ तोकिएको छ।

रेड्मी वाच-६ लाइट कालो र इस्पात खैरो रङमा उपलब्ध छ भने यसको मूल्य १४ हजार ९९९ रुपैयाँ रहेको छ। त्यस्तै, रेड्मी वाच-६ एक्टिभ मध्यरात कालो, चम्किलो चाँदी र सूर्यास्त सुन्तला रङमा उपलब्ध छ। यसको मूल्य १० हजार ९९९ रुपैयाँ तोकिएको छ।