• Menu

पशुपतिनाथमा बिहान ३ बजेदेखि नै चारै ढोका खुला, साउनको अन्तिम सोमबार जल चढाउनेको ओइरो

नेपाल प्रफिट

२०८३ साउन २५, ०९:१९

पशुपतिनाथमा बिहान ३ बजेदेखि नै चारै ढोका खुला, साउनको अन्तिम सोमबार जल चढाउनेको ओइरो

काठमाडौं । आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ झमझ पानी परिरहेको छ तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन् ।

बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिए । पशुपति प्रस्थान मार्ग गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर, पिङ्गलास्थान र आसपासबाट पनि भक्तजन पशुपतितर्फ जानेक्रम जारी छ । गौरीनगरसम्म लामो लाम पनि लागेको छ ।

यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन एवं विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ । बिहानैदेखि सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको पनि लाम लागेको छ ।

दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी तथा कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक संघ-संस्थाको विशेष सेवा तथा सहभागिता रहेको छ । सवारी आवागमन व्यवस्थित गर्न गौशाला, जयवागीश्वरी, सिफल, मित्र उद्यान, चाबहिल र गौरीनगरमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति छ ।

बिहान ३:०० बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि राति ८:०० बजेसम्म खुला रहने छ । विशेष पूजा बिहान ८:३० बजेदेखि मध्याह्न १२:०० बजेसम्म मात्र हुने जनाइएको छ ।

मन्दिर प्रवेशका लागि चारतिरबाट लामको व्यवस्था गरिएको छ । बिहानैदेखि भक्तजन आए पनि लामो समयसम्म लाममा बस्नुपर्ने अवस्था नरहेको कोषले जनाएको छ ।

यसैगरी, पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था पनि गरिएको छ । विभिन्न संघ-संस्थाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

यहाँका प्रसिद्ध शिवालय गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको ‘सानो पशुपतिनाथ’ भनेर चिनिने मक्खन महादेवलगायत ठूला-साना सबै शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको प्रतिनिधिहरूले जनाइएका छन् ।

सम्बन्धित समाचार