
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी आफ्ना मन्त्रीलाई नागरिक र पार्टी पङ्क्तिसँग प्रत्यक्ष संवादमा जोड्ने गरी ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
रास्वपाका सहमहामन्त्री असिम शाहले जारी गरेको विज्ञप्तिअनुसार आगामी भदौदेखि सुरु हुने कार्यक्रममा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
लोकतन्त्रको मर्मअनुसार निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनुपर्ने भएकाले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ।
कार्यक्रमको पहिलो चरणमा साँझ एक घण्टा आमनागरिकका लागि खुला रहनेछ। सो अवधिमा उपस्थित मन्त्रीले सर्वसाधारणका गुनासा, समस्या, अपेक्षा र सुझाव प्रत्यक्ष रूपमा सुन्नुपर्नेछ।
त्यसपछि दोस्रो चरणमा सम्बन्धित मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबीच संयुक्त बैठक हुनेछ। पहिलो चरणमा नागरिकबाट प्राप्त सुझाव तथा गुनासामाथि छलफल गर्दै समसामयिक, बहुआयामिक र नीतिगत विषयमा साझा रणनीति तय गरिने रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार कार्यक्रमले नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठनबीचको समन्वयलाई प्रभावकारी बनाउँदै नागरिकका मुद्दालाई नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउनेछ।
पार्टीले मन्त्रीहरूलाई आमनागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने, नागरिकका वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने र नागरिक, पार्टीको संगठन, संसदीय दल तथा सरकारमा रहेका प्रतिनिधिबीच सूचना र कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्ने लक्ष्य लिएको छ।
रास्वपाले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमलाई भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने माध्यमका रूपमा अघि बढाउन लागेको जनाएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal