
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २४ घण्टामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा एक हजार २८१ सवारी चालकलाई कारबाही गरेको छ ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी अन्य विभिन्न ट्राफिक कसुरमा ७८६ चालक कारबाहीमा परेका छन् । त्यसैगरी तीव्रगतिमा सवारी चलाउने १४३, ‘रेडलाइट’ उल्लंघन गर्ने ६८, सिसीटिभीमार्फत ८५, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६५, लेन अनुशासन उल्लंघन गर्ने ४१, अवस्था ठिक नभएका सवारी ३०, ‘वानवे’ उल्लंघन गर्ने २२ तथा हर्नको दुरुपयोग गर्ने ४१ चालकलाई कारबाही गरिएको छ ।
उपत्यकामा बढ्दो सवारी चापका बीच ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि दैनिक निगरानी तथा कारबाहीलाई तीव्र पारिएको कार्यालयले जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित निगरानी, सिसीटिभीमार्फत अनुगमन तथा चाँजलाई थप प्रभावकारी बनाइएको जानकारी दिए ।
उनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तोकिएको लेन प्रयोग गर्न, रेड लाइट उल्लंघन नगर्न तथा सुरक्षित र जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न आग्रह गरेका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal