• Menu

हिरोसिमा स्मृति दिवसमा आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

नेपाल प्रफिट

२०८३ साउन २१, १३:१६

हिरोसिमा स्मृति दिवसमा आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

एजेन्सी । जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवस मनाउँदै विश्व समुदायलाई आणविक हतियारको खतरा दोहोरिन नदिन आग्रह गरेको छ। समारोहमा सहभागी नेताहरूले बढ्दो सैन्य प्रतिस्पर्धा र आणविक प्रतिरोधको अवधारणाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

हिरोसिमा शान्ति स्मारक पार्कमा आयोजित कार्यक्रममा करिब ५० हजार मानिस तथा अमेरिका, इरानलगायत १२० देश र क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए। सन् १९४५ मा बिहान ८:१५ बजे हिरोसिमामाथि अमेरिकी बी-२९ बमवर्षक विमानबाट आणविक बम खसालिएको समयको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।

हिरोसिमाका मेयर काजुमी मात्सुईले शान्ति घोषणामार्फत आणविक हतियारलाई सुरक्षा र प्रतिरोधको माध्यमका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले विश्वलाई पुनः हिरोसिमा र नागासाकीजस्तै त्रासदीतर्फ धकेल्न सक्ने चेतावनी दिए । उनले विगतका पीडाबाट शिक्षा लिएर आणविक हतियारविहीन विश्व निर्माणमा सक्रिय हुन विश्व समुदायलाई आह्वान गरे ।

प्रधानमन्त्री साने ताकाइचीले प्रधानमन्त्री बनेपछि पहिलो पटक स्मृति समारोहमा सहभागी हुँदै संयुक्त राष्ट्रसंघको आणविक अप्रसार सन्धिको ढाँचाभित्र रहेर आणविक हतियारको प्रयोग कहिल्यै नहुने विश्व निर्माणका लागि जापानले यथार्थवादी नीति अपनाउने बताउनुभयो। उहाँले जापानले युद्धपछिका तीन गैर-आणविक सिद्धान्तलाई निरन्तर कायम राखेको पनि उल्लेख गरे ।

यद्यपि सरकारले यस वर्षको अन्त्यतिर नयाँ सुरक्षा तथा रक्षा रणनीति सार्वजनिक गर्ने तयारी गरिरहेकाले जापानका परम्परागत गैर-आणविक सिद्धान्तबारे पुनर्विचार हुन सक्ने चर्चा पनि बढेको छ।

हिरोसिमा र नागासाकीका जीवित पीडितहरूले विश्वभर पुनः बढ्दो आणविक प्रतिरोधको बहसप्रति चिन्ता व्यक्त गर्दै जापानले आणविक हतियार निषेधसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा सहभागी हुनुपर्ने माग दोहोर्‍याएका छन् । तर अमेरिकी आणविक सुरक्षा छातामुनि रहेको जापान सरकारले उक्त माग स्वीकार गरेको छैन ।

सन् १९४५ अगस्ट ६ मा हिरोसिमामाथि खसालिएको आणविक बमका कारण करिब एक लाख ४० हजार मानिसको मृत्यु भएको थियो । त्यसको तीन दिनपछि नागासाकीमा भएको दोस्रो आणविक बम आक्रमणमा करिब ७० हजार मानिसले ज्यान गुमाएका थिए । त्यसपछि अगस्ट १५ मा जापानले आत्मसमर्पण गरेसँगै दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो ।

हाल हिरोसिमा र नागासाकीका जीवित पीडितको संख्या ९१ हजार १०५ मा झरेको छ। उनीहरूको औसत उमेर ८६ वर्षभन्दा माथि पुगेको छ। बाँचेकाहरूले युद्ध र आणविक विनाशको वास्तविक अनुभव भावी पुस्तासम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याएका छन्।