• Menu

आयात निर्भरता घटाउन र नेपाली ब्रान्ड स्थापित गर्न ‘एनएस’ चिह्न आवश्यक छ : उद्योगमन्त्री

नेपाल प्रफिट

२०८३ साउन १९, ११:३३

आयात निर्भरता घटाउन र नेपाली ब्रान्ड स्थापित गर्न ‘एनएस’ चिह्न आवश्यक छ : उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको प्रवर्धन, उपभोक्तालाई गुणस्तरीय वस्तुको सुनिश्चितता गर्न तथा निर्भरता घटाउन नेपाल गुणस्तर (एनएस) चिह्न लिन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेकी छन् ।

उनले गुणस्तरीय स्वदेशी उत्पादनको विकास र बजार विस्तारका लागि एनएस चिह्नको प्रयोग प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।

नेपाल गुणस्तर तथा नापतौल विभागका पदाधिकारीसँगको छलफलमा मन्त्री यादवले नेपालमा उत्पादन हुने वस्तुको गुणस्तर सुनिश्चित गर्न नेपाल गुणस्तर चिह्नको दायरा विस्तार गर्नुपर्नेमा जोड दिएकी हुन् ।

उनले नेपालमै उत्पादन भएका वस्तुलाई स्वदेशी बजारमा सहज रूपमा बिक्रीवितरण गर्न तथा उपभोक्तामाझ विश्वास बढाउन उक्त चिह्न आवश्यक रहेको बताइन् । त्यसका लागि सरकारले व्यवसायीलाई आवश्यक प्रोत्साहन दिने र गुणस्तर चिह्न प्राप्त गर्ने प्रक्रियालाई थप सहज बनाउने निर्णय गरेको उनले जानकारी दिइन् ।

मन्त्री यादवले नेपाल गुणस्तर चिह्न प्राप्त गरेका वस्तुलाई अन्तरराष्ट्रिय बजारमा निर्यात तथा बिक्रीवितरण गर्न सहज हुने उल्लेख गर्दै त्यसका लागि आवश्यक सम्पूर्ण प्रक्रियामा मन्त्रालयले सहजीकरण गर्ने बताइन् ।

हालसम्म नेपालमा उत्पादन हुने सिमेन्ट, रड, टायरलगायत विभिन्न औद्योगिक उत्पादनले नेपाल गुणस्तर चिह्न प्राप्त गरिसकेकी छन् ।

पछिल्लो समय नेपालमै उत्पादन हुने सेनेटरी प्याडले नेपाल गुणस्तर चिह्न प्राप्त गरेको छ । धेरै उद्योग तथा कम्पनीले उक्त चिह्न लिन बाँकी रहेकाले समयमै आवश्यक प्रक्रिया पूरा गर्न मन्त्रालयले आह्वान गरेको छ ।

मन्त्रालयका अनुसार नेपाल गुणस्तर चिह्नको प्रयोगले स्वदेशी उत्पादनप्रति उपभोक्ताको विश्वास बढ्नुका साथै नेपाली ब्रान्डलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै यसबाट विदेशी आयातमा निर्भरता घट्दै स्वदेशी उद्योग र उत्पादनलाई थप प्रोत्साहन पुग्ने विश्वास मन्त्रालयको छ ।