• Menu

घट्यो चिया निर्यात

नेपाल प्रफिट

२०८३ साउन १८, १०:४४

घट्यो चिया निर्यात

काठमाडौं । नेपालबाट भारततर्फ हुने चिया निर्यात घटेको छ । काँकडभिट्टा भन्सार कार्यालयकाअनुसार आर्थिक वर्ष २०८२/८३मा कुल तीन अर्ब ५१ करोड ९६ लाख रुपैयाँ बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६४ अर्ब रुपैयाँ बराबर कम हो । आर्थिक वर्ष २०८१/८२मा चार अर्ब १६ करोड ९३ लाख ५८ हजार मूल्य बराबरको १५ हजार ३११ मेट्रिक टन चिया निर्यात भएको थियो ।

नेपाली चियाको मुख्य बजार भारत हो । गुणस्तर परीक्षणका क्रममा देखिएको गैरभन्सार अवरोधका कारण निर्यात प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ । यसबाहेक अन्तर्राष्ट्रिय बजारको मागअनुसार उत्पादन तथा मूल्य निर्धारणमा आउने परिवर्तनका कारण पनि निर्यात प्रभावित भएको देखिन्छ ।

नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको ठूलो हिस्सा पूर्वी नाका काँकडभिट्टा हुँदै भारतीय बजारमा पुग्ने गर्दछ ।