
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्रमा हमाससहित अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरण तथा त्यसपछि इजरायली सेना फिर्ता हुने ऐतिहासिक सम्झौता भएको घोषणा गरेका छन् ।
ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मा गरेको पोस्टमा गाजामा हमास र अन्य सबै सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणमा सहमति भएको उल्लेख गर्दै यसलाई स्थायी शान्ति र सुरक्षातर्फको महत्वपूर्ण कदमका रूपमा वर्णन गरेका छन् ।
उनका अनुसार सम्झौता चरणबद्ध रूपमा कार्यान्वयन गरिनेछ। निशस्त्रीकरणको प्रक्रिया पूरा भएपछि इजरायली सेना गाजा पट्टीबाट फिर्ता हुनेछ ।
राष्ट्रपति ट्रम्पले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतार, इजिप्ट र टर्कीलाई विशेष धन्यवाद दिँदै उनीहरूको प्रयासकै कारण यो ऐतिहासिक सहमति सम्भव भएको बताएका छन्। साथै, सम्झौतामा योगदान पुर्याउने सबै पक्षप्रति पनि उनले आभार व्यक्त गरेका छन् ।
ट्रम्पले यो सहमतिलाई युद्ध अन्त्य गर्ने आफ्नो २० बुँदे योजनाको कार्यान्वयनमा एउटा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै गाजाको सुरक्षा र व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय बलले नयाँ प्यालेस्टिनी प्रहरी बलसँग सहकार्य गर्ने पनि बताएका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal