• Menu

घाँसे मैदान र पानी पोखरीको व्यवस्थापनपछि बाँके निकुञ्जमा २५ बाट ५१ पुगे बाघ

नेपाल प्रफिट

२०८३ साउन १३, बुधबार १८:४०

घाँसे मैदान र पानी पोखरीको व्यवस्थापनपछि बाँके निकुञ्जमा २५ बाट ५१ पुगे बाघ

बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या ५१ पुगेको छ । रािष्ट्रय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार बाघको संख्या २५ बाट बढेर अहिले ५१ पुगेको हो । सो निकुञ्जमा सन् २०२२ मा २५ बाघ रहेका थिए ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलका अनुसार निकुञ्जमा सबैभन्दा पहिले २०१३ सालमा बाघको संख्या चार रहेकामा २०१८ सालमा बढेर २१ पुगेको थियो । प्रमुख संरक्षण अधिकृत कँडेलले बाघको आहार प्रजातिका लागि घाँसे मैदानको व्यवस्थापनका कारण बाघको संख्या बढेको बताए ।

उनले भने, ‘मानव वन्यजन्तु द्वन्द्वको विषयले ठूलो चुनौती थपिएको छ, तर यसको साझा प्रयासबाट निष्कर्षमा पुग्न सकिन्छ ।’ बाघबाट हुने क्षति कम गर्न र चोरी शिकारी नियन्त्रणका लागि सधै चनाखो रहेको उल्लेख गर्दै अधिकृत कँडेलले बाघको बासस्थान आसपासमा कृत्रिम पानी पोखरीको निर्माण गरिएको बताए ।

‘हामीले चुरे पहाडबाट पनि पानी ल्याएका छौँ र केही सोलार प्रविधिबाट वन्यजन्तुका लागि कृत्रिम पानीपोखरीको व्यवस्थापन गरेका छौँ,’ उनले भने । अधिकृत कँडेलले स्थानीय समुदाय, सरोकार भएका निकाय, संघ, संस्थालगायतका निकायले गरेको साझा प्रयासबाट बाघको संख्या बढ्नमा मद्दत पुगेको उल्लेख गरे । बाँके र आसपासका वन क्षेत्रमा कम्प्लेक्स विभाजन गरी बाघको गणना गरिएको थियो ।

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तरराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमि क्षेत्र समेटी नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो ।

यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्वपश्चिम राजमार्ग रहेको छ । यस निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा रहेको छ । यहाँ जैविक विविधताको दृष्टिले आठ वटा इकोसिष्टम, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराको प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ प्रकारका उभयचर पाइन्छन् ।

यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारी र ५० प्रजातिका अन्तरराष्ट्रियस्तरमै दुर्लभ चरा रहेका छन् । बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किमि क्षेत्रलाई समेटेर निकुञ्जसँगै यहाँ मध्यवर्ती क्षेत्र पनि घोषणा गरिएको थियो ।