
काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य संस्थामाथि हुने आक्रमण तथा बिरामीमाथि हुन सक्ने लापरवाहीलाई समान रूपमा गम्भीरतापूर्वक लिँदै स्वास्थ्य सेवामा सुरक्षा, विश्वास र उत्तरदायित्व अभिवृद्धिका लागि दीर्घकालीन सुधार प्रक्रिया अघि बढाएको जनाएको छ।
मन्त्रालयले चिकित्सक तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’को नीति दोहोर्याउँदै सुरक्षित, व्यवस्थित र विश्वसनीय स्वास्थ्य सेवा प्रणाली निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारलाई तीव्रता दिएको जनाएको छ।
नारायणी अस्पतालमा भएको पछिल्लो घटनापछि मन्त्रालयले घटनालाई केवल कानुनी कारबाहीमा सीमित नराखी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका विषयमा सम्बन्धित निकायसँग निरन्तर छलफल र समन्वय गरिरहेको जनाएको छ।
यसका लागि मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समितिमार्फत गृह मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल चिकित्सक संघ , नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल नर्सिङ संघ तथा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाललगायत सरोकारवाला निकायसँग चरणबद्ध छलफललाई निरन्तरता दिएको छ।
मन्त्रालयका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी सुरक्षित नभएसम्म गुणस्तरीय स्वास्थ्य सेवा सम्भव हुँदैन भने बिरामीले गुणस्तरीय उपचार नपाएसम्म स्वास्थ्य प्रणालीप्रतिको विश्वास कायम रहँदैन। त्यसैले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य संस्थामाथि हुने आक्रमण र बिरामीमाथि हुने लापरवाहीलाई कानुनबमोजिम निष्पक्ष तथा प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था सुदृढ बनाइने जनाइएको छ।
मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ संशोधनको प्रक्रिया पनि अघि बढाएको जनाएको छ। सरोकारवालाबाट प्राप्त सुझावका आधारमा कानुनी तथा नीतिगत सुधारलाई अन्तिम रूप दिइने मन्त्रालयको भनाइ छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal